- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना चौवन्न
कार्यमूलक अनुसन्धान :नमुना चौवन्न
अनुसन्धान कर्ताको नाम– नन्दलाल आचार्य
विषय– नेपाली , पेशा– शिक्षण
कार्यरत संस्था/कार्यालय– श्री जनता प्राविधिक मावि, गोलबजार–४, सिरहा ।
स्थायी ठेगाना– बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।
अनुसन्धानको शीर्षक :‘कक्षा १० मा शब्दवर्ग पहिचान सम्बन्धी समस्या न्यूनीकरणको उपायहरू’
१. परिचय
सरकारी विद्यालयको आर्थिक दुरावस्था र कमजोर शैक्षणिक कार्यकलाप/मूल्याङ्कनले गर्दा चाहेजस्तो शिक्षा दिन नसकिएको गुनासो सर्वत्र विद्यमान छ । शैक्षिक सामग्रीको सवालमा पनि ‘अड्को पड्को तेलको धूप’ नै गर्नुपरेको छ । कक्षामा कालो/सेतोे पाटीका अतिरिक्त कतै कतै पुराना, धुलाम्मे चार्ट/कागज टाँसेको सम्म देख्न पाइन्छन् । तिनीहरूको प्रयोजन र त्यहाँ रहनुको औचित्य बारे प्रायः कसैले वास्ता गरिरहेका हुँदैन । प्रायः विद्यालयको हालत यस्तै छ ।
यस शैक्षिक सत्र २०७७ भरी नै कोरोना कहर र लकडाउनले अध्ययन अध्यापन कार्य अवरुद्ध भयो । शिक्षकहरूले सिकाउँछु भन्दा पनि सम्भव भएन । विद्यार्थीले पनि मरिहत्ते गरेर पढ्ने काममा जोतिए पनि शतप्रतिशत सिकाइ भएन । विद्यार्थीहरूको रुचि र चाहनाको वास्ता गर्ने चाहना हुँदाहुँदै पनि हतार भयो । सरासर किताबका पाठहरू सिद्धयाउन पट्टी लागियो । समय अभावका कारण परीक्षामुखी शिक्षण गर्न प¥यो । फलतः प्रतिफल ऋणात्मक पाउने अवस्था आयो । दोष विद्यार्थी र अभिभावकमा थोपरेर आफू पानी माथिको ओभानो हुन मिलेन । तसर्थ विद्यालयले दिएको निर्देशनानुसार घुम्ती शिक्षणका लागि विद्यार्थीको घरआँगनसम्म पुगेर समेत शिक्षण कार्यमा सरिक भइयो ।
साँच्चै शिक्षकले अलिक खुल्ला दिमागले सोचेर थोरै मात्र कष्ट गर्ने हो भने विद्यार्थीहरूकै सक्रियतामा कक्षाकोठामा अनेकौं रोचक शैक्षिक सामग्री जुटाउन र त्यस अनुरूपका गतिविधि सञ्चालन गरी शिक्षण सिकाइ कार्यकलाप गर्न सम्भव हँुदो रहेछ । शैक्षिक स्तर माथि उकासिसकेका सिमित विद्याथीहरूको सहयोगले पूरै कक्षाको शैक्षणिक कार्यकलाप संचालन गरी छोटो समयमै फलदायी नतिजा हात पार्न सकिँदो रहेछ ।
पस्नासाथ विद्यार्थीहरूले सिक्ने वातावरण भएको कक्षाकोठा हुनुपर्छ । उनीहरू शिक्षकको व्याख्यानभन्दा विद्यार्थीहरू आफ्नो अनुभव र क्रियाकलापबाट बढी सिक्छन् । उनीहरूले सिक्नुपर्ने कुराहरूलाई कथा, कहानी, खेल, चित्र, तालिका आदिका माध्यमबाट संप्रेषित गरिदिएमा/गर्न लगाइदिएमा सरल र सहज ढङ्गबाट चाँडै सिक्छन् । यसो गरेमा उनीहरूमा रचनात्मक–सिर्जनात्मक क्षमताको विकास हुन्छ र अपेक्षित सिकाइ उपलब्धि हाँसिल गर्न सकिन्छ । विद्यार्थी स्वयमको लय र भाका पक्रन सके मात्र फलदायी सिकाइ सम्भव हुन्छ । अझ विद्यार्थीहरू नै सिक्ने र सिकाउने कार्यमा सक्रिय भए भने चाँडै गन्तव्यमा पुग्न सकिँने रहेछ ।
चारैतिर कोरोना त्रास र लकडाउनको वाध्यता, मधेसमा विमातृभाषी विद्यार्थीहरूलाई नेपाली भाषाशिक्षणमा कठिनाई, बालमनोविज्ञानमा फितलोपन र प्रतिकूलताका कारणले शैक्षिक सत्रभरिको अध्ययनअध्यापनबाट निस्केको निष्कर्षलाई व्यवहारमा ढाल्न कठिन भयो । किनभने श्री जनता मावि, गोलबजारको कक्षा–१० (प्राविधिक धार) मा सिरहा जिल्ला र आसपासका विद्यार्थीहरू थिए । शिक्षणका क्रममा आवश्यक पर्ने विविध हाउभाउ गरेर र मैथिली, नेपाली र मगर भाषामा सम्झाएर भए पनि सम्झाउने, बुझाउने र सिकाउने काम गरियो ।
शिक्षणको सुरुआतका दिनहरूमा विद्यार्थीहरूको कमजोर बुझाइका कारण उनीहरूलाई व्याकरण सिकाइतिर आकर्षित गर्न सकिरहेको थिइनँ । उनीहरूलाई प्रयास जारी राखे सिक्न सकिन्छ भनेर विश्वास र भरोसामा ल्याउन हम्मेहम्मे परिरहेको थियो । सुरुआतमा अधिकांश विद्यार्थीहरूको नेपाली भाषा अध्ययनप्रति वेवास्थाभाव कायमै थियो । नेपाली भाषा व्याकरणमा पठन संस्कृतिको विकास बिल्कुलै थिएन । उनीहरूका लागि केवल अध्ययन नै पहिचान र प्रतिष्ठाको विषय बनेको थिएन । नेपाली त साह्रै सजिलो विषय हो, परीक्षाका बेला एकाध हप्ता यसो हेरेमा उत्तीर्ण गर्न कहर काट्नु पर्दैन भन्ने भ्रम ज्युँकात्यँुउ थियो । यस्तो वितृणाको बेलामा पनि उनीहरूबाटै शिक्षण कार्य सुरुआत गरे पछि भने एकाएक सिकाइमा सुधार भयो ।
समयको बदलिँदो परिस्थितिसँगै भित्रिएको आधुनिकताले विज्ञान र प्रविधिको क्षेत्रमा तीव्र विकास भएको छ । शिक्षामा पनि यसको प्रभाव परिरहेको छ । नयाँ नयाँ ज्ञान र प्रविधिको विस्तारसँगै शैक्षिक विधि र प्रविधिहरू पनि थपिंदै गएका छन् । विकसित समयको मागअनुसार शिक्षकहरू पनि समायोजित तथा सबल बन्दै जानुपर्ने शिक्षामा थपिएका नयाँ नयाँ विषयवस्तु तथा परिवर्तित एवम् विकसित पाठ्यक्रम तथा पाठ्यपुस्तक अनुसार शिक्षण गर्नुपर्ने परम्परागत रूपमा शिक्षण गरिरहने हामी शिक्षकले शिक्षण क्रममा भोगेका विविध समस्याहरूप्रति सचेत भई समस्या समाधानको लागि आवश्यक सल्लाह, सुझाव एवम् परामर्श लिइरहनुपर्छ ।
यसै सिलसिलामा म विगत ४ बर्षदेखि श्री जनता प्राविधिक मावि, गोलबजार ४, सिरहामा मावि नेपाली विषय अध्यापनरत् छु । स्थानीय जनताको चेतनाको विकास र समाजको विशिष्ट व्यक्तिहरूको सक्रियताबाट वि.सं. २००९ सालमा स्थापना भएको यस विद्यालयमा हाल ४६ जना शिक्षक, १ जना लेखापाल, ४ जना विद्यालय कर्मचारी र लगभग १८०० विद्यार्थीहरू रहेका छन् । बालकक्षादेखि कक्षा १२ सम्म सामान्य र प्राविधिक धारको पढाइ हुने यो विद्यालय सिरहा जिल्लाको एउटा नमुना विद्यालयको रूपमा परिचित थियो र अहिले पनि सो प्रतिष्ठा कायमै छ ।
माध्यामिक तहमा नेपाली भाषा शिक्षणका क्रममा व्याकरण सम्बन्धी अवधारणा, परम्परागत व्याकरण र आधुनिक व्याकरणमा देखिएका भिन्नता कथ्य र लेख्य व्याकरणबीच भिन्नता, वर्णविन्यास, शिक्षणका समस्याहरू, पदयोग र पदवियोग सम्बन्धी नियम, कारक र विभक्तिको परिचय, कारकका प्रकार, कविता शिक्षणको प्रयोजन र विधि, जीवनी लेखन, कथालेखन जस्ता विविध भाषिक सीप शिक्षणका बारेमा दक्षता हासिल गर्ने अवसर पाएको छु । यसै क्रममा पेशागत दक्षता अभिवृद्धिका लागि यस कार्यमूलक अनुसन्धान ९ब्अतष्यल च्भकभबचअज० गरेर सोही अनुसारको प्रतिवेदन लेखन कार्य गरेको छु । सकोकार सबै पक्षबाट यसको समुचित मूल्याङ्कन र आवश्यक सुझाव र सहयोग एवम् मार्गनिर्देश प्राप्त हुने कुरामा आशावादी छु ।
कक्षा शिक्षणका क्रममा भेटिएका अनगिन्ती समस्याहरू मध्ये मैले कक्षा १० प्राविधिक धारमा अध्ययनरत् ४४ जना विद्यार्थीहरूको शब्दवर्ग पहिचान सम्बन्धी समस्यालाई लिएर कार्यमूलक अनुसन्धान गरेको र प्रतिवेदन तयार पारेको छु ।
२. कार्यमूलक अनुसन्धानका उद्देश्यहरू
क) शिक्षकको पेशागत दक्षताको अभिवृद्धि गर्ने ।
ख) शिक्षणको सिलसिलामा देखिएका समस्या समाधानका लागि शैक्षिक सामग्रीको प्रयोग, व्यक्तिगत भिन्नताको पहिचान, खोजविधिमा शिक्षकलाई अग्रसर बनाउने ।
ग) भाषिक सीपशिक्षणका क्रममा देखिएका समस्या र परिवर्तित व्याकरण शिक्षणमा देखिएका समस्याको समाधान गर्ने, आफ्नो कार्यशैलीमा सुधार सहितको परिवर्तन ल्याउने ।
घ) विद्यार्थीहरूमा नेपाली व्याकरण अध्ययनप्रति मोह जगाउने ।
ङ) कोरोना त्रास र लकडाउनको प्रतिकूल परिस्थिति बुझेर आफू बच्दै सिकाइ उपलब्धी आर्जनमा उत्प्रेरित गर्नु ।
३. अनुसन्धानात्मक अध्ययनको औचित्य
कार्यमूलक अनुसन्धान शिक्षणको एक महत्त्वपूर्ण प्रयोगात्मक पक्ष हो । यसले शिक्षण सिकाइको कुनै पनि अवस्थालाई सुधारात्मक रूपमा अघि बढाउँछ । सामान्यतया कक्षा शिक्षण सिकाइ क्रियाकलापको क्रममा कक्षा कोठामा देखिएका शिक्षण सिकाइ सम्बन्धी तत्कालीन समस्याहरूको समाधान गर्ने उद्देश्यले कार्यमूलक अनुसन्धान गरिन्छ । कार्यमूलक अनुसन्धानले शिक्षक तथा विद्यार्थीको शिक्षण सिकाइमा ठोस परिवर्तन ल्याउँछ । शैक्षिक समस्याको पहिचान, सुधार र समाधानमा यस अनुसन्धानको विशेष महत्त्व हुन्छ । यसो हुँदा मैले पनि शब्दवर्ग शिक्षणका लागि कार्यमूलक अनुसन्धान गर्दा यसबाट पाएको अनुभव अन्य क्षेत्र र सीपको शिक्षणमा समेत प्रयोग गर्न सकिने अनुभूति गरेको छु ।
४. अध्ययनको सीमा
कुनै पनि वस्तुको शीर्षक सानो भएतापनि यसको क्षेत्र व्यापक हुन्छ । नेपाली शिक्षण भाषिक सीपको शिक्षण भएकाले विभिन्न कक्षा र तह अनुसार यसको यसको शिक्षण व्यापक र विस्तार हुँदै जान्छ । तर मैले कक्षा १० को नेपाली विषयको शब्दवर्गअन्तर्गत पर्ने दुई शब्द विकारी (नाम, सर्वनाम, विशेषण, क्रियापद) र अविकारी (क्रियायोगी, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपात) शब्द र शब्दवर्गको पहिचानसँग मात्र यो अध्ययन सीमित गरेको थिएँ । प्राविधिक धार तर्फ कक्षा १० का जम्मा ४४ जना विद्यार्थीहरूलाई शिक्षण गरी प्राप्त नतिजा विश्लेषणको अनुसन्धान नै यसको सीमितताभित्र पर्दछ । देशभर लकडाउन र कोरोना सन्त्रासले छोटो समय दिएको र विमातृभाषी विद्यार्थीलाई नेपाली भाषाको शब्दवर्गको ज्ञान दिने मेरो आफ्नो शिक्षण परिष्कार कालको प्रयासको कारण पनि अनुसन्धान सीमित बनेको छ ।
५. समस्याको पहिचान
शब्दवर्ग पहिचान शिक्षणको सिलसिलामा थुप्रै समस्याहरू र बाधा अड्चनहरू देखापरे । विश्व नै सन्त्रासको समयमा रहेकाले सिक्ने र सिकाउने यथेष्ट अवस्था थिएन । शैक्षिक सत्रको सुरुआतदेखि नै विद्यार्थीहरूमा शब्दवर्ग पहिचान सम्बन्धी विषयवस्तुको कमजोर पूर्वज्ञान थियो । यसैलाई तथा अन्य विभिन्न तत्त्वलाई ध्यान दिँदा मैले कक्षा १० को शब्दवर्ग पहिचान अन्तर्गत शिक्षणमा देखापरेको समस्यालाई अनुसन्धानको विषय बनाएर समाधानको उपाय खोजेँ । समय समयमा विभिन्न तालिममा सिकेका शिक्षणका विधिहरू पनि प्रयोग गरी अनुसन्धान कार्य तथा समस्या समाधानमा सम्पन्न गरेको छु ।
६. कार्यमूलक अनुसन्धानको योजना
यस शिक्षण अबधि शैक्षिक सत्र २०७७ बैशाख १ देखि चैत्र मसान्तसम्म रहेको थियो । त्यसमा सुरुआतका महिनामा पढाइ ठप्प प्रायः भयो । मैले जे जसरी विद्यार्थी परिचालन गरेर विद्यार्थीहरूलाई सिकाए पनि प्रधानाध्यापक भरत प्रसाद साह, रामेश्वर कामती, वीरेन्द्र यादव, सरोज सिंह दनुवार, राजकुमार साह लगायतले कुनै न कुनै रूपमा सघाउ पु¥याउनुभयो । । प्रत्यक्ष–परोक्ष विद्यार्थीहरूलाई पृष्ठपोषण दिएर मेरो नवीन शैक्षिक विधि–प्रविधि अनुरूप अध्ययन गर्न सल्लाह दिएर सबै शिक्षणकर्मीहरूले सघाउनुभयो ।
कक्षा ९ मा नै सिकिसकेका कुराहरूको पुर्नताजगीका लागि कक्षा १० का विद्यार्थीहरू अनिषा सिंह, पुष्पा यादव, फलेस साह, प्रवीण यादवहरूले कक्षा कार्यकलापमा शिक्षकझै कार्य गरेर सघाए । कतिपय अवस्थामा उनीहरूले व्याकरण कक्षा समेत लिए । मेरो प्रत्यक्ष रोहबरमा कापीहरू निरीक्षण गरे । मेरो सहभागितामै प्रश्नोत्तर कार्यक्रम राखे । कक्षामा देखा परेका समस्या सुल्झाए । आफूबाट समाधान हुन नसकेका वा अरूलाई चित्त बुझाउन नसकेका समस्या मसँग राखी समाधान गरे ।
हरेक कार्यको लागि योजनाको आवश्यकता पर्दछ । विना योजना कार्य सम्पन्न हुन सक्दैन । त्यसैले विभिन्न सीप तथा अनुभवहरूको अभावमा पनि मैले यस कार्यमूलक अनुसन्धानको योजना निम्नानुसार तय गरेको थिएँ ।
क) अनुसन्धान समयावधि
यस कार्यमूलक अनुसन्धानको समयावधि २०७७/०७/११ गतेदेखि मसान्तसम्म गरी जम्मा २० दिन तय गरेको थिएँ । सोही समयभित्र अनुसन्धान कार्य सम्पन्न गरेको थिएँ । अन्य समय अरू पाठ्यवस्तुलाई समय दिएको थिएँ ।
ख) अनुसन्धान विधि
यस कार्यमूलक अनुसन्धान कार्य सम्पन्न गर्नका लागि विशेष गरी अवलोकन, छलफल, खोज, शब्दकोश अध्ययन, शब्दवर्ग सम्बन्धी धारणा, प्रयोगात्मक विधिहरू छनौट गरेको थिएँ । साथै प्रश्नावली तयार गरी विद्यार्थीहरूको उत्तरपुस्तिका समेत परीक्षण गरेर र गराएर अनुसन्धान कार्य अघि बढाएको थिएँ ।
ग) शैक्षिक सामग्री
यहाँ कार्यमूलक अनुसन्धान कार्य सञ्चालनको लागि प्रयोगमा ल्याइएका सामग्रीलाई शैक्षिक सामग्रीको रूपमा लिएको छु । यसमा नेपाली, हिन्दी र संस्कृत शब्दकोश, विभिन्न लेखकका व्याकरणकारका व्याकरणसम्बन्धी पुस्तकहरू नै प्रमुख शैक्षिक सामग्रीको रूपमा रहेका छन् ।
घ) अनुसन्धान केन्द्रित
मसँग विगत २५ वर्षदेखि निजी र सरकारी स्कुलमा कक्षा एकदेखि स्नातकोत्तर तहसम्म अनिवार्य र ऐच्छिक विषयको रूपमा नेपाली विषय पठनपाठन गर्दै आएको अनुभव छ । अनुभव जेजस्तो भए पनि शिक्षण सिकाइका कमजोर पक्ष पहिचान गरी निदानका उपाय खोज्नु आफैँमा गारो काम हो । शब्दवर्ग सम्बन्धी धारणा सानै कक्षादेखि १२ सम्म समावेश गरिएको भेटेको छु । तर यो अनुसन्धान भने कक्षा १० का विद्यार्थीहरूले शब्दवर्ग पहिचान सम्बन्धी भोगेका समस्या र निदानमा शिक्षक–विद्यार्थीले संयुक्तरूपमा गरेको प्रयत्नमा विशेषतः केन्द्रित रहेको छ ।
७) कार्यक्रम सञ्चालन
आफूसँग रहेको ज्ञान र सीपको अलावा विभिन्न तालिमको माध्यमबाट सिकेको सीप तथा अनुभवलाई प्रयोग गर्दै मैले निम्नानुसार कार्यक्रम सञ्चालन गर्ने योजना बनाएँ । यसमा समस्याको छनोट लगायत अन्य पक्ष जस्तै शैक्षिक सामग्रीको निर्माण तथा प्रयोगमा विशेष ध्यान केन्द्रित छ ।
क) समस्यामूलक विषयवस्तुको छनौट
ज्ञातबाट अज्ञाततिर र सरलबाट जटिलतिर भन्ने शिक्षणको सूत्रानुसार कक्षा १० को विद्यार्थीलाई नेपाली विषयको एसइई परीक्षालाई सुहाउँदो शब्दवर्ग सम्बन्धी विषयवस्तु छनोट गरेको थिएँ ।
ख) हस्तक्षेपकारी तीन चरण अनुसारको प्रयोग
अ) पहिलो चरणमा गरिएको कार्य र प्रतिफल–
विद्यार्थीबाटै विद्यार्थी सिकाइका लागि सर्वप्रथम मैले विद्यार्थीहरूको नेपाली भाषा सिकाइस्तर पत्ता लगाउने काम गरेँ । विद्यार्थीहरूको व्याकरणिक/भाषिक रूचि र क्षमता पहिचान गरेँ । समस्या कोरोनाकालको प्रतिकूल समयमा मात्रै नभईकन सिकाहरूकै बेहोसीपनमा रहेको निष्कर्ष निकालेँ । समग्रमा भन्नुपर्दा विद्यार्थीहरूले हाउगुजी मानेर आएको व्याकरणका कमजोरीहरू र त्यसलाई हटाउने सम्भावित उपायहरूको निक्र्यौल गरेँ । र, उपलब्धिमूलक सिकाइमा हरतरहले अग्रसर हुने र विद्यार्थीहरूलाई हुन लगाउने अठोट गरेँ ।
सर्वप्रथम विद्यार्थीलाई विभिन्न शब्दवर्ग पहिचान सम्बन्धी प्रश्नहरू तयार पारेर तिनको बारेमा यथेष्ठ छलफल र अन्तरक्रिया गर्न लगाएँ । ती शब्दवर्गभित्र परेका शब्दहरूको भिन्नताको पहिचान गर्न लगाएँ । अनुमानका आधारमा उत्तर भन्न लगाएँ । समूहबाट उत्तर खोज्ने प्रयास गरेँ । यसो गर्दा विद्यार्थीहरू पनि बढी सक्रिय भएको पाएँ । मैले पनि विद्यार्थीहरूको सिकाइ स्तर बुझेर सिक्ने/सिकाउने विधि–प्रविधिको बारेमा जानकारी लिने अवसर पाएँ ।
आ) दोस्रो चरणमा गरिएको कार्य र प्रतिफल–
अलिकती ध्यान दिन सके नेपाली व्याकरण शिक्षणको सजिलो छ । अधिकांशले प्रयोग व्यवहार गर्दै आएको र लामो ऐतिहासिक परम्परा भएको लोकप्रिय भाषा नेपाली भएकोले यसको व्याकरण जान्नु सबैको हितमा छ भन्ने वुझाउन खोजेँ ।
यसमा पहिलो चरणमा विद्यार्थीहरूले समूहअनुसार हरेक शब्दहरूको पदवर्ग बारे छलफल गराउँदै विद्यार्थीहरूलाई सिकाइ क्रियाकलापमा सहभागी गराएँ । शिक्षकको रूपमा आवश्यक परेमा निर्देशन तथा सुझाव दिएँ । विद्यार्थीहरू पनि पदवर्गमा पटक पटक त्रुटि गर्दै गल्ती सुधारतर्फ सक्रिय देखिएका थिए । यस सम्बन्धी पर्याप्त मात्रामा अभ्यासहरू गराएपछि सिकाइमा सुधार आएको अनुभूत गरेको थिएँ ।
इ) तेस्रो चरणमा गरिएको कार्य र प्रतिफल–
उपर्युक्त कुराहरूमा व्यापक छलफल गरेपश्चात् कक्षा १० (प्राविधिक तर्फ) को नेपाली विषयशिक्षकको हैसियतले म एक्लैले कापी परीक्षण गर्न सक्ने कुरै थिएन । हरेक दिन कापी जाँच गर्ने काममा प्रवीण यादव, फलेस साह, पुष्पा यादव र अनिषा सिंहहरूलाई जिम्मेवारी सुम्पिएँ । उनीहरूको कापी पहिले परीक्षण गर्दिन्थेँ । त्यसपछि शिक्षकको हैसियत राखेरै मैले गर्ने सबै काम गर्थेँ । कक्षामा आएका प्रायः हरेक समस्या उनीहरूले समाधानमा चासो राख्नुपर्ने हुन्थ्यो ।
सेतो पाटीमा लेख्ने जिम्मा प्रायः अनिषा सिंह र पुष्पा यादवलाई दिन्थेँ । कक्षाकार्य र गृहकार्यको पुनः निरीक्षण गरी आवश्यक ठाउँमा पृष्ठपोषण दिने जिम्मेवारीमा मस्वयम खटिन्थेँ । यी सबैजना विद्यार्थीहरू अध्ययनमा होसियार थिए । तुलनात्मकरूपमा बढी नै अनुशासित थिए । स्वयम मर्यादामा रहन रुचाउँथे । मैले खटाएको काम राम्ररी सम्पन्न गर्न मलाई हरतरहले सहयोग गरी ती विद्यार्थीहरूले मेरो नेपाली व्याकरण शिक्षण कक्षामा कुनै किसिमको कमजोरी हुन दिएनन् ।
मैले दोस्रो चरणमा छलफलका माध्यमबाट सम्झाएका कुराहरूले कक्षा नै मप्रति गौरवान्वित हुन गयो । कतै कुनै प्रकारको जनगुनासो सुन्न र सहनु परेन । व्याकरण शिक्षणको कक्षा उत्साहप्रद बन्दै गयो । विद्यार्थीले भनेका कुरा उसका सहपाठीले सतप्रतिशत नै अबलम्बन गर्ने कुरा आइहाल्यो । बाँकी केही रह्यो ।
यस तेस्रो चरणसम्म आइपुग्दा विद्यार्थीहरूले पदवर्ग बारे धेरै कुरा जानिसकेका थिएँ । यसमा चाहिँ प्रत्येक दिनको पाठको अन्तमा मूल्याङ्कनको रूपमा मौखिक एवम् लिखित प्रश्नहरू सोध्ने गर्थँे । यसमा नाम, सर्वनाम, विशेषण, क्रियापद, क्रियायोगी, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपात जस्ता नौ किसिमका शब्दवर्गसँग सम्बन्धित विषयमा आधारित प्रश्नहरू सोध्ने गर्थेँ । उनीहरूले थप अभ्यास गरेर सिकून् भन्ने मनसायले गृहकार्य पनि दिने गरेको थिएँ । यसो गर्दा विद्यार्थीहरू अझ सक्रिय भएको पाएको थिएँ ।
६) प्राप्ति तथा निष्कर्ष
शब्दवर्गको अध्यापनको सिलसिलामा यससँग सम्बन्धित समस्यामूलक विषय छनौट गरी त्यसैको कार्यमूलक अनुसन्धान गरेर प्रतिवेदन तयार गर्दा धेरै किसिमको अनुभव हासिल गरेको छु । कार्यमूलक अनुसन्धानले आफूलाई शिक्षणको सिलसिलामा नयाँ अवधारणाको महसुस गराएको छ । सकेसम्म विद्यार्थीकेन्द्रित शिक्षण र बढीभन्दा बढी शैक्षिक सामग्रीको प्रयोग गर्नाले शिक्षण शिक्षण प्रभावकारी र सफल हुने ठहरमा पुगेको छु । । कक्षा १० को विद्यार्थीलाई अघिल्ला बर्षको शिक्षणभन्दा यस प्रकारको फरक शिक्षणबाट बढी सफलता मिलेको अनुभूति गर्न समेत पाएको छु ।
विद्यार्थीहरू सक्रिय भएर आपसी संवाद, छलफल, प्रश्नोत्तर र वर्णनद्वारा सक्रिय सिकाइ सम्भव हुने रहेछ भन्ने सिद्धान्तले व्यवहारमा मूर्तरूप पायो । एकाएक नेपाली व्याकरण सिकाइप्रति विद्यार्थीहरूमा रुचि बढेर गयो । व्याकरण सिकाइमा अपनत्वको भावना पैदा भयो । उछृङ्खल प्रवृत्तिका विद्यार्थीहरूमा समेत सुप्रवृत्तिको विकास हुन गयो । व्याकरण कक्षामा मलाई तनाव हुन जाने प्रतिकूल कर्म कसैले गरेन । परोक्षरूपमा भए पनि अपजस आफ्नै काँधमा आउँछ भन्ने वोधले समेत क्रक्षाको वातावरण सकारात्मक बन्यो ।
मैले दिएको निर्देशनलाई अक्षरशः पालना गरी शिक्षणको तौरतरिका नै भिन्न पारेका थिए । आफूले नजाने वा नबुझेका कुराहरू सुल्झाउन खोजयात्रामा निस्कन थाले । कतैबाट समाधान नभएको खण्डमा मात्र ‘नेपाली गुरूकहाँ जानुपर्छ’ भन्न थाले । कक्षामा नियमित उपस्थित हुने विद्यार्थीहरू चाहिँ नेपाली भाषासिकाइमा अब्बल हुँदै गए । हरेक काममा विद्यार्थी स्वयम सक्रिय रहन थाले । शैक्षिक सामग्री स्वयम निर्माण गर्ने र प्रदर्शन गर्ने काम गर्थे । र, २०७७ सालको माघ महिनाको उत्तराद्र्धमा लिइएको वार्षिक परीक्षामा नेपाली विषयमा ३ जना विद्यार्थी बाहेक अरूले राम्रो अङ्क ल्याएर उत्तीर्ण गरे ।
अहिलेको युगमा लामालामा व्याख्यान दिएर विद्यार्थीहरूको कलिलो, कमलोे एवम् संवेदनशिल मनस्थितिलाई मुठार्नु हुँदैन । केवल सिक्ने र सिकाउने वातावरण मिलाई दिनुपर्छ । सिकारुले मार्ग भुल्दा मार्गनिर्देश गर्नुपर्छ । आवश्यक परेको ठाउँमा आवश्यक मात्रामा मात्र पृष्ठपोषण दिनुपर्छ । आजका विज्ञान र प्रविधिले युक्त विद्यार्थीहरूले शिक्षकको मायालु व्यवहार र समुचित मार्गनिर्देश पाउन सके शिक्षकले कक्षाकोठामा प्रवचन दिइराख्नुपर्दैन । अझ व्याकरण त प्रयोगात्मक तवरले मात्र सिक्न र सिकाउन सकिन्छ ।
उनीहरूलाई आफ्नो विचार र विवेकको भरमग्धुर प्रयोग गर्ने अवसर प्रदान गर्नुपर्छ । उनीहरूको सोच र समझ ऊध्र्वगामी भए शिक्षक आफैँले पनि अपनाउनुपर्छ । समयानुकूल नभए सच्याउन आग्रह गर्नुपर्छ । यद्यपि कसैको मनोकांक्षालाई ठाडै कुल्चने र पूर्वाग्रही मनस्थिति राख्ने भुल कदापि गर्नुहुन्न ।
माथि उल्लेखित कुराहरूलाई मध्यनजर गर्दै मैले बेलाबेलामा विद्यार्थीहरूलाई आफ्नो विषयगत नीति नियम सम्झाउने र पुनर्ताजगी गर्ने काम गरेँ । एक प्रकारले विद्यार्थी स्वयम नै सक्रिय भएर सिक्ने सिकाउने कार्यमा सफलता पाइसके पछि कार्यक्रमको निष्कर्ष निकाल्दा विद्यार्थीहरूमा धेरै जिम्मेवारी बढेको र अरू जिज्ञासुहरूले अवसर नपाएको आभाष गर्न पुगेँ ।
त्यसैले हाजिरी गर्ने, बोर्डमा लेख्ने र कापी निरीक्षण गर्न सघाउने, व्याख्या–वर्णन गर्नेजस्ता काममा अरू सक्षम र इच्छुक विद्यार्थीहरूमा अधिकार प्रत्यायोजित गर्ने गरी पुनर्योजना बनाएँ । यसो गर्दा उनीहरूमा शिक्षकको विश्वासको सम्मान गर्न पछि सर्नुहुन्न भन्ने भावना पैदा भयो । यसबाट सबै विद्यार्थीहरूमा जिम्मेवारीको लायक म पनि रहेछु भन्ने वोध भयो । र, पूरै कक्षा सक्रिय सिकाइमा सरिक भयो । भरसक सबै विद्यार्थीहरूलाई कक्षाका हरेक गतिविधिमा अवसर दिने प्रण गरेँ । यसरी शिक्षक आपतकालीन मित्र बनेर कक्षामा रहे विद्यार्थी स्वयम सक्रिय भई व्याकरण सिक्न सक्ने रहेछन् ।
७) प्रतिवेदन प्रवोधिकरण
कोरोनाकालको सन्त्रासमय समयको शिक्षण सुधारमा गरेको सानो प्रयत्न समेटेर प्रस्तुत गरिएको यस प्रतिवेदन विद्यालयका अन्य शिक्षक सामु समेत प्रस्तुत गरेर प्रबोधिकरण गरिने छ । यस प्रयोगका सकारात्मक पक्षहरू अपनाउन र नकार पक्षहरूका लागि सुझाव दिन म सरोकारवाला शिक्षक वर्गमा अनुरोध गर्दछु । यथोचित सुझावलाई मध्यनजर राख्तै आगामी दिनमा शैक्षिक कार्यकलापमा सुधार गर्ने प्रणका साथ यस प्रतिवेदनलाई बिट मार्ने अनुमति चाहन्छु ।
प्रस्तुतकर्ता
नन्दलाल आचार्य,
माशि, श्री जनता मावि, गोलबजार–४, सिरहा ।
स्थायी ठेगाना– बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।
पेशा– शिक्षण र लेखन ।
देश, विदेशको भ्रमण– स्वदेशका सबै मुख्य सहरहरू, भारतको बनारस, दिल्ली, हरिद्वार र मुम्बई सहर ।
साहित्यका बारेमा कार्य– ‘सत्यसंयन्त्र’, सत्यापन ‘बालसंसार’, ‘शिक्षा–दीक्षा’, ‘मूलबाटो’, ‘प्रयास’ को सम्पादन ।
‘जनमत’ र ‘शब्दाङ्कुर’ साहित्यिक मासिक पत्रिका एवं सगरमाथा साहित्य परिषद् र विश्व नेपाली साहित्य महासंघको आजीवन सदस्य ।
सगरमाथा साहित्य परिषद्को कार्यसमितिको सचिव । विश्व नेपाली साहित्य महासंघको विश्व कार्य समिति (२०१६–२०१९) को केन्द्रीय सदस्य ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


how to copy it text
Leave a review