- Home
- Show Content
कार्यमूलक अनुसन्धान :नमुना पचपन्न
कार्यमूलक अनुसन्धान :नमुना पचपन्न
अनुसन्धानकर्ता शिक्षक : मुकुन्द प्रसाद घिमिरे (प्रा.शि. तृतीय)
विद्यालय: श्री चण्डेश्वरी प्रा वि षडानन्द ८, भोजपुर
अनुसन्धानको शीर्षक :आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुसार कक्षा १ को विद्यार्थी मूल्यांकनमा देखिएका समस्या
१. पृष्ठभूमि
कार्यमूलक अनुसन्धान भनेको व्यावहारिक कठिनाइ र समस्या समाधान गर्ने अभिप्रायले गरिने खोजपूर्ण कार्य हो । विद्यालयमा शिक्षकले आफुले अध्यापन गराउने विषयमा आइपर्ने समस्याको पहिचान गरी तिनको समाधान तथा सुधारका उपायहरु पत्ता लगाउन कार्यमूलक अनुसन्धान गरिन्छ । कार्यमूलक अनुसन्धानले कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलाप तथा विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गरी समग्र शिक्षा पद्दति नै सफल बनाउनमा उल्लेख्य सहयोग गर्दछ । त्यसैले जुनसुकै तह र विषय शिक्षण गर्ने शिक्षकका लागि कार्यमूलक अनुसन्धान आवश्यक हुन्छ ।
म प्रदेश नं. १ को भोजपुर जिल्ला, षडानन्द नगरपालिका वडा नं.८, सेमेङ स्थित श्री चण्डेश्वरी प्राथमिक विद्यालयमा प्रा.शि.तृतीयका रुपमा शिक्षण गर्दछु । यो विद्यालय वि.सं. २०१६ साल पौष १ गतेका दिन स्थापना भएको हो । भौगोलिक दृष्टिकोणले यो विद्यालय मध्य पहाडी क्षेत्रमा पर्दछ । यहाँ डाँडा–पाखा, हरियो वनजङ्गल, स्वच्छ हावापानी तथा मौसममा रमेर मिश्रित जातजातिको पातलो बस्तीका बालबालिकाहरु अध्ययन गर्न आउँछन् । यस विद्यालयमा आ–आफ्नो पूरानो संस्कार अनुरूप धर्म मान्ने र आर्थिक अवस्था न्यूनमध्यम भएको परिवारका बालबालिका पढ्छन् ।
नेपालमा शैक्षिक वर्ष२०७७ मा आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम ०७६ एकिकृत पाठ्यक्रमका रुपमा कक्षा १ मा सर्वप्रथम लागू गरिएको छ । यो पाठ्यक्रम शैक्षिक वर्ष २०७८ मा कक्षा २ र ३ मा कार्यन्वयन गरिदैंछ । यस पाठ्यक्रमले बालबालिकालाई सिकाउनु पर्ने विभिन्न विषय क्षेत्रका मिल्दाजुल्दा विषयगत थिमहरुलाई एउटै कार्यपुस्तक (पाठ्यपुस्तक) को सहायताले सिकाउने उद्देश्य लिएको छ । यो पाठ्यक्रममा साविकको प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ मा भन्दा धेरै फरक पक्षहरु समावेश गरिएका छन् । यो पाठ्यक्रम बालबालिकाको सर्वपक्षीय सिकाइका लागि सबैभन्दा सफल र प्रभावकारी पाठ्यक्रमका रुपमा सावित हुने सम्भावना रहेको छ ।
आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ का अनुसार कक्षा १ को विद्यार्थी मूल्यांकन सत प्रतिशत निरन्तर विद्यार्थी मूल्यांकन (CAS) मा आधारित रहेर गर्नु पर्दछ । यसको मतलब कक्षा १ मा आवधिक परीक्षा गर्न हुँदैन । शैक्षिक वर्ष २०७७ मा यस विद्यालयको कक्षा १ मा आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ लागू भएपश्चात एकिकृत पाठ्यक्रमको कार्यन्वयनसँग सम्बन्धित विभिन्न समस्याहरु सिर्जना भए । एकिकृत पाठ्यक्रमको अभिमुखीकरण गोष्ठि संचालन हुनु (२०७६ माघ) अघि नै हाम्रो विद्यालयमा प्रथम त्रैमासिक परीक्षा भई सकेको थियो । त्यसैले उक्त परीक्षामा हामीले अरु कक्षासँगै १ कक्षाको पनि परीक्षा गरेका थियौं । अभिमुखीकरण गोष्ठिबाट एकिकृत पाठ्क्रमका बारेमा धेरै कुरा सिक्ने र अध्ययन गर्ने अवसर प्राप्त भयो । त्यस पछिको अर्धवार्षिक परीक्षामा कक्षा १ का विद्यार्थीलाई के गराउने भन्ने समस्या उत्पन्न भयो । उक्त समस्याको निराकरण गर्नका लागि मैंले एक कार्यमूलक अनुसन्धान गर्ने एकल निर्णय गरें । सोहि कार्यमूलक अनुसन्धानका विभिन्न पक्षहरु समेट्दै मैले एउटा प्रतिवेदन तयार गरेको छु ।
२. समस्याको पहिचान
आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुसार यस विद्यालयको कक्षा १ मा एकिकृत पाठ्यक्रम कार्यन्वयन गर्ने क्रममा र विद्यार्थीको मूल्यांकन गर्ने प्रक्रियामा मैंले भोगेका समस्याहरु धेरै छन् । जसमध्ये विद्यार्थी मूल्यांकन सम्बन्धी केहि समस्याहरु यस प्रकार रहेका छन् ।
- निरन्तर विद्यार्थी मूल्यांकनको परिवर्तित अवधारणा कसरी प्रयोग गर्ने
- आवधिक परीक्षाको समयमा १ कक्षाका विद्यार्थीलाई के गर्ने
- नेपाली विषयको मूल्यांकन कसरी गर्ने
उल्लेखित समस्याहरु मध्ये मेरो यो अनुसन्धान अन्य कक्षाको आवधिक परीक्षाको समयमा १ कक्षाका विद्यार्थीहरुलाई के गर्ने भन्ने समस्यासँग सम्बन्धित रहेको थियो ।
३. अध्ययनको उद्देश्य
- आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुसार विद्यालयमा अन्य कक्षाको आवधिक परीक्षा संचालन भई रहेको समयमा कक्षा १ का विद्यार्थीहरुलाई गराउने क्रियाकलापहरु पत्ता लगाउनु
४. समस्याका कारणहरु
आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुसार यस विद्यालयको कक्षा १ मा एकिकृत पाठ्यक्रम लागू गर्दा विभिन्न समस्याहरु आई पर्नुका कारणहरु मध्ये प्रमुख कारण एकिकृत पाठ्यक्रमका सम्बन्धमा जे गर्नु पथ्र्यो त्यो भई रहेको थिएन । मैंले हुनु पर्ने र भइ रहेको अवस्था बिचको भिन्नतालाई यस प्रकार बुझेको छु ।
| विवरण | हुनु पर्ने | भएको | |
|
१.अभिमुखीकरण कार्यक्रम २.शिक्षण व्यवस्था ३.शिक्षक संख्या (१-५ मा) ४.आवधिक परीक्षा ५.कार्य पुस्तक (पाठ्यपुस्तक) ६.निरन्तर विद्यार्थी मूल्यांकन फारम |
१.२०७६ चैत्र सम्ममा २.कक्षा शिक्षण ३.कम्तीमा ५ जना ४.गर्न नपर्ने ५.कक्षामा नै राख्ने व्यवस्था ६.परिवर्तन भएको |
१.२०७७ माघ अन्तिममा २.विषय/ बहुकक्षा शिक्षण ३. ४जना (का.स.सहित ) ४.गरेको (प्रथम त्रैमासिक ) ५.विद्यार्थीले घर लाने ६.परिवर्तन नगरेको |
५. समस्या समाधानका उपाय
आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुसार यस विद्यालयको कक्षा १ मा एकिकृत पाठ्यक्रम लागू गर्दा देखिएका विभिन्न समस्याहरु समाधानका केहि उपायहरु यस प्रकार छन् ।
- पाठ्यक्रम सम्बन्धि नयाँ कुराहरु लागू गर्नु पर्ने भएमा लागू गर्नु भन्दा पहिले त्यस सम्बन्धि तालिम, गोष्ठि, सेमिनार आदि संचालन गर्ने गराउने
- विद्यालयमा कम्तीमा एउटा कक्षाका लागि एक जना शिक्षक हुने गरी शिक्षक व्यवस्था गर्ने
- बालमैत्री कक्षाकोठा व्यवस्थापनमा ध्यान दिने
- विद्यार्थीका कार्यपुस्तक र आवश्यक सामग्री राख्न तथा पप्रयोग गर्न मिल्ने व्यवस्थापन गर्ने
- विद्यार्थीलाई नियमित रुपमा विद्यालयमा आउने बनाउनका लागि सचेतना कार्यक्रम गरी अभिभावकलाई जागरुक बनाउने
६. अनुसन्धानको योजना
आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुसार यस विद्यालयको कक्षा १ मा एकिकृत पाठ्यक्रम संचालन हुने अवधिमा विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ का कारण ँबअभ तय ाबअभ शिक्षण सिकाइ हुने अवस्था थिएन । त्यसैले पनि विभिन्न समस्याहरु थपिएका थिए । त्यस्ता समस्याहरु मध्ये आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ लाई कक्षा १ मा लागू गर्ने क्रममा अन्य कक्षाको आवधिक परीक्षा भई रहदा कक्षा १ का स(साना नानी(बाबुहरुलाइ गराउन सकिने क्रियाकलापहरु पत्ता लगाउनका लागि निम्नानुसारको योजना बनाई साधनहरु प्रयोग गर्दै चरणबद्ध कामहरु गरिएको थियो ।
- कार्यमूलक अनुसन्धान मिति २०७७/११/१० देखि २०७७/११/१६ सम्म संचालन गर्ने ।
- परीक्षाका लागि आवश्यक विषयगत प्रश्नहरु निर्माण गरी विद्यार्थीहरुलाई दिन बिराएर दुई विषयको परीक्षामा सहभागी गराउने
- कक्षा १ मा परीक्षा गराउने दिन बाहेक अन्य दिन पढाउने
- कक्षा १ का विद्यार्थीको परीक्षा सम्बन्धि मानसिकताको अध्ययन गर्ने
- कक्षा १ का विद्यार्थीका अभिभावकसँग अन्तरक्रिया गर्ने
७.कार्यान्वयन
यस कार्यमूलक अनुसन्धानका लागि निर्माण गरिएको योजना कार्यन्वयन गरियो । जसमा हाम्रो विद्यालयको अर्धवार्षिक परीक्षा २०७७ को पहिलो दिन ( मिति २०७७/११/१० ) कक्षा १ मा अरु दिनकै जसरी नियमित पठनपाठन गरियो । परीक्षाको दोस्रो दिन ( मिति २०७७/११/११) कक्षा १ का विद्यार्थीलाई नेपाली ( अरु कक्षामा परीक्षा भई रहेको ) विषयको प्रश्नपत्र दिएर परीक्षा गराइयो । तेस्रो दिन कक्षा १ का अभिभावकहरुलाई विद्यालयमा बोलाईयो र १ कक्षाको परीक्षाका विषयमा छलफल तथा अन्तरक्रिया गरियो । चौथो दिन मेरो सेरोफेरो विषयको प्रश्नपत्र दिएर परीक्षा गराइयो । पाँचौं दिन विद्यार्थीहरुलाई केहि कथाहरु सुनाउँदै उनीहरुको परीक्षा सम्बन्धि धारणा वुझ्न प्रश्नोत्तर गरि परीक्षा सहभागिता, उत्सुकता आदि कुरालाई मध्यनजर गर्दै बाल मानसिकताको अध्ययन गरियो ।
८. प्रतिबिम्बन
अनुसन्धान कार्यमा गरिएका क्रियाकलाप पश्चात निम्नानुसारको प्रतिक्रिया / नतिजा प्राप्त भएका थिए ।
- पहिलो दिनको पठनपाठनका क्रममा विद्यार्थीहरुले हाम्रो परीक्षा किन नभएको, कहिले हुन्छ / हुँदैन जस्ता प्रश्नहरु गर्नु
- दोस्रो दिन विद्यालय नजिकका र बाटोमा भेट भएका १ कक्षामा पढ्ने विद्यार्थीका अभिभावकहरुले परीक्षाको जिज्ञासा राख्नु
- दोस्रो दिन विद्यार्थीहरु खुसी हुँदै परीक्षामा सहभागी हुनु साथै उनीहरुले अघिल्लो दिन छुटेको (अंग्रेजीको ) परीक्षा कहिले हुन्छ भन्ने प्रश्न सोध्नु
- छलफल र अन्तरक्रियामा सहभागी अभिभावकहरु परीक्षा सबै विद्यार्थीका लागि आवश्यक हुने निष्कर्षमा पुग्नु
- १ कक्षाका नानी बाबुहरुमा अरु कक्षाका दाजुदिदीले जस्तै परीक्षा दिन पाए हुन्थ्यो भन्ने मानसिकता हुनु
९. निष्कर्ष
एकातिर आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुसार कक्षा १ मा एकिकृत पाठ्यक्रम लागू गरेपछि विद्यार्थी मूल्यांकनका लागि आवधिक परीक्षा गर्न नमिल्ने सैद्धान्तिक अवधारण रहेको पाईयो । अर्कातिर बालबालिका र उनीहरुका अभिभावकको मानसिकता आदिका आधारमा अन्य कक्षाको परीक्षा हुँदा कक्षा १ को पनि परीक्षा गर्नै पर्ने व्यावहारिक अवस्था रहेको पाइयो । त्यसैले आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुसार कक्षा १ मा एकिकृत पाठ्यक्रम लागू गरेपछि अन्य कक्षाका विद्यार्थीको आवधिक परीक्षा सँगै कक्षा १ का विद्यार्थीलाई पनि निरन्तर विद्यार्थी मूल्यांकनमा सहायक हुने खालका प्रश्नहरु समेटी प्रश्नपत्र बनाएर लिखित परीक्षा गराउदा प्रभावकारी हुने देखिन्छ । यस कार्यमूलक अनुसन्धानबाट आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ कक्षा १ मा लागू गरेपछि कक्षा १ का विद्यार्थीहरुलाई पनि परीक्षा गराउनु पर्ने र उक्त परीक्षालाई निरन्तर विद्यार्थी मूल्यांकन (CAS) को सहायक सामग्रीका रुपमा प्रयोग गर्नु पर्ने निष्कर्षमा पुग्न सकिन्छ ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review