- Home
- Show Content
कार्यमूलक अनुसन्धान : नमुना चौसठ्ठी
कार्यमूलक अनुसन्धान : नमुना चौसठ्ठी
अनुसन्धानकर्ता : फणिन्द्र पराजुली
विद्यालय : श्री महेन्द्र माध्यमिक विद्यालय,
ठेगाना : बेलबारी : १०, भाउन्ने, मोरङ, प्रदेश नं. १
तह : प्राथमिक
अध्ययनको शीर्षक :विद्यार्थीहरूको विज्ञान विषयप्रतिको रुचिलाई बढाउनका लागि गरिएको एक अनुसन्धान ।
१. अध्ययनको परिचय :
विज्ञान विषय एक यस्तो ज्ञानको भण्डार हो , जसले हाम्रो जिज्ञासालाई मेटाउनुका साथै प्रयोग तथा अनुभवको माध्यमबाट आफूमा भएको ज्ञान, सीप र अभिवृद्धिलाई बढाउने काम गर्दछ । विज्ञान एक यस्तो गतिशील विषय पनि हो, जसमा नयाँ र असल ज्ञानको लागि प्रयास भईरहेको हुन्छ । आधुनिक मानव समाजको विकासमा विज्ञानको महत्वपूर्ण देन रहेको पाइन्छ ।
विज्ञानले नै आज मानव समाजलाई ढुङ्गे युगबाट कृषि, पशुपालन, औद्योगिक युग हँुदै प्रविधिको युगमा परिणत गराउँदै गएको छ । देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गराउनका लागि विज्ञान विषयको देनलाई कुनै पनि कोणबाट नकार्न सकिँदैन । यस्तो महत्वपूर्ण विषयप्रति विद्यार्थीहरूको रुचि घट्दै जानु आधुनिक मानव समाजको विकासमा ठेस लाग्नु सरह हो ।
१.१. अध्ययनको पृष्ठभूमि :
श्री महेन्द्र माध्यमिक विद्यालय बेलबारी–१०, मोरङको कक्षा (१–१०) मा विशेष गरी आर्थिक रुपमा कमजोर, मजदुर, ज्यालादारी गरी जीविकोपार्जन गर्ने जनजाति वर्गका विद्यार्थीहरूको वाहुल्यता रहेको छ । उनीहरूका आर्थिक तथा साँस्कृतिक पक्षहरूले उनीहरूको अध्ययनमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पारिरहेको छ । यसै सन्दर्भमा विद्यालय तहमा विज्ञान विषयलाई प्राथमिक तहदेखि नै विद्यार्थीहरूले एक जटिल विषयका रुपमा लिइदै आएको पाईन्छ ।
जसले गर्दा विद्यर्थीहरूमा विज्ञान विषयप्रति रुचि कम भएको पाईन्छ । फलस्वरुप विज्ञान विषयको सिकाई उपलब्धिमा समेत ह्रास आएको देखिन्छ । यसै सन्दर्भमा अधारभूत तहका कक्षा –४ का विद्यार्थीहरूमा विज्ञान विषयप्रति रुचि कम हँुदै जानुलाई एक समस्याका रुपमा लिएर सो समस्यालाई अध्ययन गरी समाधानका लागि एक कार्यमूलक अनुसन्धान तयार पारिएको छ ।
१.२. समस्याको पहिचान :
यस महेन्द्र माध्यमिक विद्यालयको आधारभूत तहका कक्षा–४ का विद्यार्थीहरूको विज्ञान विषयप्रतिको रुचि कम भएको समस्यालाई अध्ययन गरी समस्या समाधानका लागि सो कक्षाका बालबालिकाहरूलाई विज्ञान विषयप्रति सकारात्मक धाराणाको विकास गराउनुका साथै सो विषयमा भएका विषयवस्तुलाई सरल र सहज ढङ्गले बालबलिकाहरूका दैनिक जीवनसँग जोडेर शिक्षण गरी सम्बन्धित विषयप्रतिको समस्यालाई समाधान गर्नका लागी सर्वप्रथम बालबालिकाहरूमा भएका निम्नानुसारका समस्याको पहिचान गरियो ।
- विथार्थीहरूले विज्ञान विषयलाई एक जटिल र घोकन्ते विषयका रूपमा लिनु ।
- किताबी ज्ञानका रूपमा मात्र लिनु ।
- सैद्धान्तिक ज्ञानमा मात्र आधारित भई पठनपाठन हुनु ।
- आफ्नो दैनिक जीवन र व्यावहारिक जीवनसँग जोडेर ज्ञान लिने वातावरण तयार नहुनु ।
- विद्यार्थीहरूले प्रयोगात्मक ढङ्गले गरेर सिक्ने अवसर प्राप्त नगर्नु ।
- शिक्षण कार्यमा प्रयाप्त स्थानीय शैक्षिक सामग्रीको प्रयोग नहुनु ।
- विविध नविन तथा विद्यार्थी केन्द्रित विधिको अवलम्बन गरी शिक्षण नहुनु ।
१.३. अध्ययनको उद्देश्य :
यस कार्यमूलक अनुसन्धानको उद्देश्य निम्नानुसार रहेका छन् :–
- विज्ञान विषयलाई एक किताबी ज्ञानको रुपमा मात्र नलिई व्यावहारिक ज्ञानसँग जोड्न सक्ने बनाउने ।
- यस विषयको विषयवस्तुलाई बढी सैद्धान्तिक नबनाई प्रयोगात्मक र सिर्जनात्मक बनाएर विद्यार्थीहरूका रूचि अभिवृद्धि गर्ने ।
२. योजना निर्माण :
हरेक कार्य सहज र प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि योजना निर्माण गर्नु नितान्त आवश्यक हुन्छ । यस श्री महेन्द्र माध्यमिक विद्यालय, बेलबारी–१० को आधारभूत तहको कक्षा–४ का विद्यार्थीहरूका विज्ञान विषयप्रति भएको कम रुचिलाई अभिवृद्धि गर्नका लागि निम्न कार्य गर्ने योजना बनाईयो ।
- विद्यार्थीहरूको विज्ञान विषयप्रति रूचि कम हुनुको कारण पहिचान गर्ने ।
- रूचि कम हुनुका कारणहरूलाई मध्यनजर गर्दै विज्ञान विषयप्रति सकारात्मक धारणा निर्माण गर्न प्रेरणा तथा पृष्ठपोषण प्रदान गर्ने ।
- विषयवस्तुलाई सैद्धान्तिक भन्दा प्रयोगात्मक र व्यवहारिक पक्षसँग जोडेर शिक्षण गर्ने ।
- विभिन्न स्थानीय शैक्षिक सामग्रीहरूको प्रयोग गरी शिक्षण गर्ने ।
- विभिन्न विद्यार्थी केन्द्रित तथा नविन शिक्षण विधिको प्रयोग गरी शिक्षण गर्ने ।
- सम्भव भएसम्म विषयवस्तुलाई विद्यार्थीहरूका दैनिक जीवनसँग जोड्ने ।
- समय समयमा सन्दर्भ जोडी विज्ञान विषयको महत्वलाई विभिन्न उदाहरणहरूका साथ उजागर गर्ने ।
३. योजनाको कार्यान्वयन :
माथिको योजना मुताबिक कक्षा–४ का विद्यार्थीहरूलाई विभिन्न प्रयाप्त स्थानीय शैक्षिक सामग्री र प्रयोगात्मक शिक्षण विधिहरू जस्तै : ललफल विधि, प्रयोगात्मक विधि, खोज विधि, परियोजना कार्य विधि, स्थलगत भ्रमण विधि आदिको प्रयोग गरी शिक्षण गर्दै गईयो । शिक्षणको क्रममा विज्ञान विषयको विषयवस्तुलाई विषयवस्तुको प्रकृति अनुसार विद्यार्थीहरूका दैनिक व्यवहारका पक्षहरूसँग जोडेर बालमैत्री ढङ्गले शिक्षण गरियो । शिक्षण कार्यको एक महिना पश्चात लिखित रुपमा मासिक टेस्ट समेत लिईयो । टेस्टको मूल्याङ्कन समेत गरी नतिजालाई विद्यार्थीहरू बिचमा प्रस्तुत गरी थप पृष्पोषण समेत प्रदान गरियो ।
४. अवलोकन :
योजना अनुसार योजनाको कार्यान्वयन गर्दै जाँदा विद्यार्थीहरूको व्यवहारमा निकै सकारात्मक परिवर्तन हँुदै गएको पाईयो । करिब १५ दिनको शिक्षणको क्रममा विद्यार्थीहरू विगतको तुलनामा बढी उत्सुक र पढाइप्रति रुचि बढेको पाईयो । विद्यार्थीहरूको कक्षामा सक्रिय सहभागिता, कक्षाकार्य तथा गृहकार्यमा नियमितता आदि कुराको अनुभूति गरीयो । त्यसैगरी शिक्षण कार्यको एक महिना पश्चात् लिखित रुपमा लिइएको मासिक टेस्टको नतिजाको मूल्याङ्कन गर्दा विगतको तुलनामा निकै राम्रो सिकाई उपलब्धि हासिल भएको पाईयो ।
५. प्रतिबिम्बन :
विद्यार्थीहरूलाई प्रेरणा जगाइ बालमैत्री ढङ्गबाट विभिन्न स्थानीय शैक्षिक सामग्रीहरूको प्रयोग तथा विविध नविन तथा विद्यार्थी केन्द्रित शिक्षण विधिको अबलम्बन गरी शिक्षण गरिएमा शिक्षण कार्य प्रभावकारी, फलदायी तथा चिरस्थायी हुनुको साथै सम्बन्धित विषयप्रति विद्यार्थीहरूको रूचि अभिवृद्धि गर्न सकिने रहेछ ।
६. निष्कर्ष :
यस कार्यमूलक अनुसन्धानबाट के देखियो भने जुनसुकै विषय होस् अझ विज्ञान विषयको हकमा विद्यार्थीहरूलाई विभिन्न सकारात्मक प्रेरणा दिँदै बालमैत्री ढङ्गबाट विभिन्न स्थानीय शैक्षिक सामग्रीहरूको बढी भन्दा बढी प्रयोग गरी विविध नविन तथा विद्यार्थी केन्द्रित विधिको अबलम्बन गरी विद्याथीहरूकै दैनिक जीवनसँग विषयवस्तुलाई संयोजन गरी व्यावहारिक जीवनका पक्षहरूसँग जोडेर शिक्षण गर्दा यस श्री महेन्द्र माध्यमिक विद्यालय, बेलबारी–१०, मोरङको आधारभूत तह अन्तर्गत कक्षा–४ का विद्यार्थीहरूको विज्ञान विषयप्रतिको रूचिलाई अभिवृद्धि गराउनमा सक्षम भईयो ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review