- Home
- Show Content
सरप्राइज गिफ्ट
सरप्राइज गिफ्ट
स्कुल अनि कलेज हुँदै अङ्कुराएको प्रेम । केही जातीय विभेदका कारण दुवै पक्षका घरपरिवारको इच्छाविपरीत मन्दिरमा देउता अनि पूजारीलाई साक्षी राखी बिहे गरे विशाल अनि अप्सनाले ।
घरपरिवारको इच्छा अनि चाहनालाई कुल्चिएर बिहे गरेका यी जोडीलाई परिवारका सदस्यहरुले कदापि स्वीकार्नै चाहेनन् । फलस्वरुप, उनीहरु कलेज पढ्दाका केही साथीहरुको सहयोगले पोखरामा कोठा लिएर बस्न थाले । साथै, उनै साथीहरुले एउटा प्राइभेट कम्पनीमा राम्रो जागिर पनि लगाइदिए विशाललाई ।
हुन पनि साह्रै माया गर्थे विशालले अप्सनालाई । अतुलनीय आफ्नी श्रीमतीको सौन्दर्य देख्दा उनलाई भित्रभित्रै लाग्थ्यो– ईश्वरले पनि फुर्सदको समयमा खुब मेहनत गरेर बनाएको हुनुपर्छ मेरी श्रीमतीलाई । एउटा भनाइ नैं छ– ‘प्रायः सुन्दरताका धनीहरु विवेक र आचरणमा गरिब हुन्छन् रे !’ तर, अप्सनामा सबै–सबै सम्पन्नता भरिभराउ लाग्थ्यो विशाललाई । भौतिक र बौद्धिक सम्पन्नताको समायोजनयुक्त श्रीमती पाएँ भन्ने कुरामा त्यसै त्यसै फुरूङ्ग हुन्थे उनी ।
आज श्रीमती (अप्सना)को जन्मदिन । अरु दिनभन्दा केही पृथक दिन । अझ भनौँ, न्यानो मायाको सामीप्यता दिलाउने यो दिन, बिहानै उठेर विशालले आफ्नी श्रीमतीलाई बर्थडे विस गरे । आजको दिन र छोरी कृषाको बर्थडे, उनी कहिल्यै भुल्दैनन् ।
‘अप्सना… सुन त… वान्स अगेन ह्याप्पी बर्थडे टू यू’ भन्दै सधैँझैँ लागे उनी अफिस ।
बेलुकाको करिब ५ः०० बजेतिर उनी अफिसबाट बाहिरिए । अफिसबाट केही पर पुगेपछि उनले आफ्नी श्रीमतीलाई केही सरप्राइज गिफ्ट दिने विचार गरे । बजेट त्यति ठूलो नभए पनि चिनेजानेको पसलबाट केही पैसा बाँकी राखी एउटा सानो औँठी किने । श्रीमतीलाई सरप्राइज गिफ्ट दिनका लागि उनको मन उनी चढेको मोटरसाइकलभन्दा पनि तीव्र गतिमा दौडिरहेको थियो ।
घर पुग्नासाथ हतार–हतार उनले घन्टी थिचे । घन्टीको आवाज सुन्नेबित्तिकै श्रीमतीले ढोका खोलिन् । विशेष श्रृङ्गार र सजावटमा आज त झनैं चन्द्रमा पनि ईष्र्याले भुतुक्कै हुने खालको उनको रुप देखेर होला सायद विशाल त भित्र पस्नै बिर्सिएर टोलाइमात्रै रहे । मृदु मुस्कानसहित कोइली कण्ठ खोलिन् उनले, ‘पहिला भित्र त पाल्नुहोस्, महाशय ।’
लठ्ठ परेर आफैँमा हराइरहेका उनी श्रीमतीको कोकिल कण्ठ बोलीले झसङ्ग झस्किए, अनि जीवनसंगिनीको मुस्कानलाई साथ दिँदै मन्द मुस्कानका साथ भित्र पसे विशाल ।
हातमुख धोएर फ्रेस हुँदै उनी बैठक कोठामा बसे, जीवनसंगिनीको व्यग्र प्रतीक्षामा । केही समयपश्चात् ट्रेमा दुई कप चिया लिएर आइन् श्रीमती पनि । टेबलमा चिया राख्दै उनी पनि श्रीमान्को नजिकै आएर बसिन् । सरप्राइज गिफ्टको तयारी गरिसकेका उनले सोफाको कुशनले छोपी राखेको एक थुँगा रातो गुलाबको फूल अनि औँठीको सानो बट्टा श्रीमतीको अघिल्तिर बढाउँदै गर्दा टिभी हेरिरहेकी सानी छोरी अकस्मात् दौडिएर आइन् । अनि, त्यो बट्टा बाबाको हातबाट खोसिन् र खोलिन् पनि ।
‘बाबा, हजुर त कत्ति लोभी के…! हजुरको त गुलाब पनि एउटामात्रै । गिफ्ट पनि यति जाबो…! अघि हजुरको अफिसको म्यानेजर अंकलले दिनुभएको गुलाब त कति धेरै । अनि, गिफ्ट पनि कत्ति मोटो सुनको सिक्री….! बाबाको भन्दा त म्यानेजर अंकलकै गिफ्ट राम्रो… है मामु…?
–राजन खनाल
khanalrajan90@gmail.com
facebook :


महिलाको चरित्र कठै बरि ...
Leave a review