- Home
- Show Content
एक महिना लामो विदाको सदुपयोग कसरी गर्ने ?
एक महिना लामो विदाको सदुपयोग कसरी गर्ने ?
छुट्टी भन्ने शब्द विद्यार्थी जीवनमा प्राय सबैलाई अत्याधिक मनपर्ने शब्द हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को सन्त्रासले हामीलाई पनि छोएको छ ।
सरकारले सबै शिक्षण संस्था तथा परीक्षाहरु एक महिनाका लागि रोकेको छ । यस्तो अबस्थामा विद्यार्थी घरमै बस्नुपर्ने हुन्छ ।
लामो छुट्टी पाउने भए पछि छुट्टीको सदुपयोग कसरी गर्ने र गराउने भन्ने अभिभावक र विद्यार्थी दुबैलाई चासोको विषय बनेको छ । कति विद्यार्थी भाइबहिनीहरूले त छुट्टी मनाउने योजना पनि बनाइसकेका छन् । कतिको बाँकी होला । जे भए पनि यो विदालाई सदुपयोगका केही आधारहरू तल प्रस्तुत गरिएको छ । कृपया यसलाई मनन गर्ने प्रयास गर्नुहोला । यसले पक्कै पनि यहाँको छुट्टीलाई अर्थपूर्ण बनाउन सहयोग गर्ने छ ।
१. विदाको समयमा आफूलाई मनपर्ने विधा जस्तै कला, साहित्य, खेलकुद, आदिसँग सम्बन्धित पुस्तकहरू पढ्ने ।
२. आफुलाई आदर्श लाग्ने व्यक्ति, खेलाडी, लेखक, गायक, रङ्गकर्मी, आदिका जीवनी र उनीहरूका काम एवम् सफलताको सूत्र पत्ता लगाउने ।
३. आफ्नो शारीरिक तथा मानसिक क्षमता अनुसार घरायसी काममा परिवारका सदस्यलाई सहयोग गर्ने ।
४. आफ्नो परिस्थिति र सहजता अनुसार विभिन्न शारीरिक तथा माननसिक समूहमा खेल्न मिल्ने खेलहरू खेलेर रमाउने ।
५. घर परिवारको अनुमति वा सहजता हेरेर विभिन्न ठाउँमा रहेका आफन्तहरूलाई भेट्ने र भलाकुसारी (गफगाफ ) गर्ने ।
६. आफ्नो क्षमताले भ्याएसम्म समाजमा भइरहेको बिभिन्न सामाजिक गतिविधि वा क्रियाकलापमा सक्रिय सहभागिता जनाएर सामाजिक उत्तरदायित्व वहनको सुरुआत गर्ने ।
७. आफूमा रहेका भिन्न भिन्न क्षमता जस्तै चित्रकला, हस्तकला, गायन आदिलाई अझ मजबुत बनाउन फुर्सदको समयको सदुपयोग गर्ने ।
८. एउटा विद्यार्थीको रुपमा आफूमा हस्तलेखन, वाचनकला, विषयगत बुझाइमा केही समस्या भए यही विदाको समयको सदुपयोग गर्ने ।
९. घरमा अघिल्लो पुस्ताको सदस्य (हजुरबा, हजुरआमा ) भए उहाँहरूसँग भलाकुसारी गरी संस्कार, समाज, संस्कृति परम्परा, चालचलन आदि बारे जानकारी लिने ।
१०. परिस्थिति मिलेमा वा सम्भव भएमा परिवारका साथमा नयाँ नयाँ ठाउँको अवलोकन भ्रमण गर्ने ।
विद्यार्थी भाइबहिनीहरू यसका अतिरिक्त अन्य रचनात्मक वा सिर्जनात्मक कार्य गरी यहाँहरूले यो विदा (छुट्टी) लाई उत्सवको रुपमा मनाउन सक्नुहुनेछ । तर समय लामो भयो भन्दैमा सामाजिक सञ्जाल, अनलाइन गेम लगायतका अन्य प्रविधिजन्य बस्तुको अत्याधिक प्रयोग (दुरुपयोग ) गन, खेल्ने वा साथी भेट्ने बहानामा अबेरसम्म घरमा नआउने, उमेर नपुग्दै यातायातका साधनहरू लिएर सडकमा निस्कने आदि जस्तो कार्य यहाँहरूले कदापि नगर्ने । यसले तपाईँको मानसिकतामा वा सोेचाइमा नराम्रो प्रभाव पार्न सक्छ । माथि उल्लेखित कार्य गर्न र गराउनका लागि अभिभावक र विद्यार्थी दुबै पक्षको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै सम्पूर्ण विद्यार्थीको विदा (छुट्टी ) स्मरण योग्य बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।
(लेखक एक निजि विद्यालयमा प्रिन्सीपल छन् ।)
साभार : parichaynetwork
facebook :


- Reviews (0)
Nothing Found...Leave a review