- Home
- Show Content
लकडाउनमा यसरी गरौँ बालबालिकाको हेरचाह
लकडाउनमा यसरी गरौँ बालबालिकाको हेरचाह
कोराना भाइरस (कोभिड १९) ले गर्दा विश्व नै आक्रान्त भइरहेको अवस्थामा अभिभावकले बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने अवस्था छ । बालबालिका भन्नाले जन्मबाट यौवन अवस्थामा प्रवेश नगर्दासम्मको अवस्था हो । अर्को शब्दमा भन्दा परिपक्वता प्राप्त नगर्दासम्मको अवस्था बाल्यावस्था हो ।
हाम्रो देशमा १६ वर्षभन्दा मुनिकालाई कानुनी रूपमा बालबालिका मानिन्छ । मनोवैज्ञानिक रूपमा हेर्दा बालबालिकालाई विभिन्न तरिकाले परिभाषित गर्न सकिन्छ । जस्तैः जिज्ञासु उमेर, खोजी गर्ने उमेर, नक्कल गर्ने उमेर, कौतुहलताको उमेर आदि । ओस्कार वाइल्डले भनेका छन्, ‘बालबालिकालाई राम्रो बनाउन उनीहरूलाई खुसी बनाउनुपर्छ ।’
त्यस्तै गरेर वाल्ट डिस्नीले जति सजिलोसँग हामीले हाम्रा बालबालिकासँग हाम्रा आदर्श र परम्पराहरू आदानप्रदान गर्छाैं, त्यति नै राम्रोसँग तीा आदर्श र परम्पराहरू सुरक्षित रहन्छन् ।’
यसबाट के प्रष्ट हुन्छ भने अभिभावकहरूले आफ्ना बालबालिकाहरूसँग धेरैभन्दा धेरै समयसम्म आफ्ना आदर्श र परम्पराका कुराहरू गर्नुपर्ने देखिन्छ ।
जर्ज कार्लिनले बालबालिकाहरूलाई पढ्न मात्र सिकाएर नहुने भन्दै उनीहरूलाई प्रश्न गर्न पनि सिकाउनुपर्ने उल्लेख गरेका छन् ।
यी सम्पूर्ण भनाइबाट के प्रस्ट हुन्छ भने हामीले यो बन्दाबन्दीको बेलामा हाम्रा बालबालिकाहरूलाई कुनै पुस्तक पढ्न मात्र लगाउनुभन्दा पनि उनीहरूसँगै बसेर हाम्रा कुराहरू भन्ने र उनीहरूको कुराहरू सुन्ने गर्नु राम्रो हुन्छ । यसबाट उनीहरूमा सकारात्मकताको विकास हुन थाल्छ ।
यसका साथै बालबालिकाहरूलाई सामान्य शारीरिक ब्यायाम गर्न सिकाउनु अझै राम्रो हुन्छ । जब बालबालिकाहरू फुर्सदिला हुन्छन्, तब उनीहरू आफूलाई विभिन्न प्रकारका डिजिटल सामग्रीहरूमा मात्र ब्यस्त राख्ने सम्भावना हुने हुनाले हामी त्यसप्रति सचेत हुन जरुरी हुन्छ र त्यस्ता सामग्रीहरूमा मात्र समय बिताउनबाट बचाउन माथिका कुराहरूमा ध्यान दिनु उपयुक्त हुन्छ ।
अहिले विश्वभरिका बालबालिकाहरू बन्दाबन्दीले गर्दा घरमा बसेका छन् । आफ्ना बालबालिकाहरूलाई हेरचाह गर्दा निम्न १० वटा टिप्सहरू उपयोगी हुन सक्छन्ः
१. बालबालिकाहरूका विभिन्न क्रियाकलापका लागी विशेष तालिका निर्माण गरिदिने,
२. बालबालिकाहरूलाई सुरक्षित महसुस गराउने,
३. तालिका बनाएर शारीरिक अभ्यास गराउने,
४. यदि सरकारको अनुमति छ भने केही समय खुला ठाउँमा सँगै हिढ्नुहोस्,
५. सामकारी सीपहरूमा ध्यान दिनुहोस्,
६. धेरै समय पढ्न लेख्न मात्र नलगाउनुहोस्,
७. सुत्ने, हिँड्ने, खाने, खेल्ने र टीभी हेर्ने समयको तालिका बनाइदिनुहोस्,
८. बाँच्नका लागी आवश्यक दैनिक सीपहरू सिकाउनुहोस्,
९. दैनिक घरायसी क्रियाकलापहरूमा सहभागी गराउनुहोस्,
१०. बालबालिकाहरूलाई आवश्यक सामग्रीहरूको व्यवस्था गरिदिनुहोस्, ताकि उनीहरूलाई आवश्यक सामग्रीको अभाव महसुस नहोस् ।
यदि हामीले यस्ता उपायहरूलाई अवलम्बन गर्न सकेको खण्डमा पक्कै पनि हाम्रा बालबालिकाहरूका यी अप्ठ्यारा दिनहरू सहज हुन सक्छन् । यसका साथै हामी हाम्रा बालबालिकाहरूसँगै रमाउने, सँगै खेल्ने गरेर उनीहरूलाई थप उत्साहित बनाउन सकिन्छ ।
(लेखक प्रगति शिक्षा सदन मावि, कोपुण्डोलका शिक्षक हुन्)
facebook :


Only rated.
Leave a review