- Home
- Show Content
४. वैदेशिक रोजगार : अवसर र चुनौती
४. वैदेशिक रोजगार : अवसर र चुनौती
४. वैदेशिक रोजगार : अवसर र चुनौती
नेपालको इतिहासमा हेर्ने हो भने नेपाल एकीकरण हुनुभन्दा पहिलादेखि नै आप्रवासन अथवा बसाइसराइ हुने गरेको देखिन्छ । त्यसबेला खासगरी विभिन्न साना–साना राज्यहरुबीचमा लडाइँका कारण सुरक्षित बसोवासका लागि मानिस एक ठाउँ छोडी अर्को ठाउँ जाने गर्दथे । केही विद्वान्हरु अरनिकोलाई पनि औपचारिकरुपमा कामका लागि विदेश पठाएको रुपमा मान्ने गर्दछन्, जसले कलाकृतिका लागि उत्कृष्ट कलाकारका रुपमा काम गरे । तर पनि धेरैले सन् १८१५ मा भएका सन्धिमार्फत नेपालले ब्रिटिस इन्डिया पठाउने कार्यलाई नै वैदेशिक रोजगारको औपचारिक शुरूवात भएको मान्ने गरेका छन् । तत्पश्चात् नेपाली युवाहरुको इमानदारिता, लगनशीलता र निडरपनाले गर्दा विश्वसामु नेपालको छवि उच्च हुन पुग्यो । यसले गर्दा आर्मी र पुलिसबाहेक सुरक्षा गार्डका लागि विभिन्न ठाउँमा नेपाली युवाहरुको माग हुन थाल्यो ।
सन् १९८० को दशकपछि नेपाली अर्थतन्त्र उदारीकरणतर्फ लम्कन थालेपछि अझ औपचारिक माध्यमबाट नै विदेशमा काम गर्न जाने क्रम बढ्न थाल्यो । सन् १९८५ मा आएको ऐन र सन् १९९० को राजनीतिक परिवर्तनले गर्दा वैदेशिक रोजगारीमा जानका लागि थप मद्दत पु¥यायो । सन् १९९४/९५ सम्म आई नपुग्दै वैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमुख गन्तव्य स्थानका रुपमा यूएई, कतार, मलेसिया, साउदी अरेबियालगायतका देशहरु स्थापित भइसकेका थिए । वर्तमान समयमा पनि ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, सिंचाइ, यातायातलगायतका आवश्यकताहरुको परिपूर्ति नभएका कारण युवाहरुको पहिलो गन्तव्य स्थान वैदेशिक रोजगार हुन पुगेको देखिन्छ ।
मानिस एक चेतनशील प्राणी भएकाले आप्mना आवश्यकता परिपूर्तिका लागि यताउता खोजी गर्नु स्वाभाविकै हो ।
रोजगारीको खोजीका सिलसिलामा ग्रामीण क्षेत्रका मानिसहरु बिस्तारै बिस्तारै दक्षिणतर्फ अर्थात् समथर जमिनतर्फ भौतिक सुुविधाका लागि बसाइसराइ गरिरहेका छन्, जसले गर्दा उत्तरतर्फको जमिन क्रमशः खाली हुुने क्रम बढ्दै गइरहेको छ । फलस्वरुप, एकातिर गाउँघरमा काम गर्न सक्ने जनशक्ति छैन भने अर्कोतिर रोजगारीको सिलसिलामा कोही सहरतर्फ त कोही विदेशमा काम गर्न गएका कारण गाउँमा रहेको खेतीयोग्य जमिन बाँझोमा परिणत हुुँदै गइरहेको अवस्था छ ।
वास्तवमा नेपालबाट वैदेशिक रोजगारमा गएका घरपरिवारकोे आँकडा हेर्दा ५६ प्रतिशतभन्दा बढी व्यक्ति आप्रवासनमा गएको देखाएको छ । यसबाट प्रस्ट हुन्छ कि २०४० सालमा भारत, चीन, बंगलादेश, कोरिया, जर्मन, अमेरिकालगायतका देशहरुमा धान निर्यात गरेर २४ करोड ३९ लाख आयआर्जन गरेको देश अहिले आएर २९ अर्ब ३६ करोड ३६ लाख रूपैयाँको धान आयात गर्नु, तरकारी र फलफूलको सन्दर्भमा करिब १२ अर्बबराबरको आयात हुनुले गाउँमा युवा जनशक्तिको पलायन र बालबच्चा तथा बूढाबूढीहरु मात्र भएको सन्देशलाई उजागर गर्दै हामी कति परनिर्भरतामा बाँचिरहेका छौँ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
नेपाल एक भौगोलिकरुपमा सामाजिक, वातावरणीय तथा जातजाति विविधताको धनी राष्ट्र हो । यहाँ विश्वप्रख्यात हिमशिखरहरु, अमूूल्य जडीबुुटीहरु, वनजंगल, खोलानालाहरु, पशुुपक्षीहरु, मूल्यवान धातुुहरु जस्तैः हीरामोती, सुुनचाँदी, तामा आदि खानीका सम्भावनाहरु रहेको छ । नेपालभित्र यस्ता प्रशस्त बलिया र उदाहरणीय सम्भावनाहरु हुुँदाहुुँदै पनि दुुई तिहाइभन्दा बढी नेपालीहरुलाई दैनिक जीवनयापन गर्न कठिनाइ परिरहेको छ । देशमा भएका युवाहरुलाई बेरोजगारी अवस्थामा पु¥याएर केही उच्च वर्गहरुलाई फाइदा पुगेको भए पनि समग्रमा हेर्दा युवा जनशक्तिलाई देशमा भएका अनेकौँ प्रकारका रोजगारीका सम्भावनाहरु हुँदाहुँदै पनि अवसरलाई मनमनै गुनेर बेरोजगारी हुनुपर्दा पीडाले लज्जास्पद बनाएको छ, जसका कारण पनि वैदेशिक रोजगारमा जानेको संख्यामा वृद्धि भइरहेको छ ।
त्यस्तै अर्कोतिर ग्रामीण क्षेत्रका युवाहरु बिस्तारै बिस्तारै आफ्नो गाउँ छाड्दै सहर हुँदै विदेशिने लहर बढ्दै गइरहेको छ । श्रम बजारमा आएका करिब ५ लाख युवा जनशक्तिहरुमध्ये दैनिक करिब १७०० को हाराहारीमा त्रिभुवन विमानस्थलबाट विदेश गइरहेको तथ्यांक छ । त्यस्तै, भारत भएर जानेको संख्या यकिन छैन । त्यसको समेत गणना गर्ने हो भने वैदेशिक रोजगारमा जानेको संख्यामा अझ वृद्धि हुने कुरा निश्चित छ । विगतका पछिल्ला समयमा भएका राजनीतिक परिवर्तनपश्चात् आर्थिक मुद्दामा देश प्रवेश गर्न नसक्नुले पनि यो अवस्था सृजना भएको मान्न सकिन्छ ।
गाउँमा भएका युवा जनशक्ति स्वदेशमा रोजगारको सम्भावना देख्दादेख्दै पनि सरकारले उचित वातावरण सृजना गर्न नसक्दा दिनानुदिन विदेशमा पैसा फल्ने बोटको सपना देखेर जानी–नजानी, साथीभाइहरुको लहैलहैमा वैदेशिक रोजगारीका लागि गएको देखिन्छ । तर यिनै गन्तब्य मुलुकहरुमा आप्रवासी कामदारहरुको सुरक्षा र अधिकारको स्थिति भने अत्यन्तै कमजोर रहेको छ । ग्रामीण भेगका युवाहरु अशिक्षित हुने भएकाले विदेशमा जाँदा ठगिने समस्या बढी मात्रामा रहेको छ । त्यसमा पनि नेपाली कामदारहरु अदक्ष वा अर्धदक्ष हुनुले पनि उनीहरुको सुरक्षा चुनौती अझ थपिएको छ ।
यस्ता चुनौतीहरुका माझमा पनि नेपाली कामदारले संघर्ष गर्दै देशलाई कुल ग्रार्हस्थ उत्पादनमा दोस्रो स्थान दिलाउन र वैदेशिक मुद्रा आर्जन गर्न सफल भएका छन् । तर यति मह¤वपूर्ण कार्यमा युवा जनशक्ति परिचालन हुँदा पनि सरकारले रोजगारदाता मूलुकमा सम्पर्क, समन्वय तथा युवासँग सम्बन्धित नीति अनि नियमहरु तयार गर्न नसक्दा युवाहरुले विदेशमा दुःख भोगिरहेका छन् ।
यसका निम्ति सम्बन्धित निकायले वैदेशिक रोजगारमा जाने युुवाहरुलाई सुुरक्षित आप्रवासनसम्बन्धी जस्तैः शारीरिक र मानसिकरुपमा तयारी, आर्थिक तयारी, घरपरिवारको व्यवस्थापन, आम्दानी–खर्चको लेखाजोखा, पासपोर्ट तयारी, नेपाल सरकारबाट सूचीकृत गरिएका देशहरु र सम्बन्धित देशमा जाँदा लाग्ने लागत रकमहरु, कालो सूूचीमा परेका रिक्रुटिङ एजेन्सीहरु, श्रम स्वीकृति पत्र, करारनामा, जीवन बिमा, मेडिकल रिपोर्ट, अभिमुुखीकरण तालिम, कल्याणकारी कोष, रसिद वा भरपाई, कागजपत्रको सुुरक्षा तथा प्रतिलिपिको व्यवस्था, मृतक कामदारका हकदारले र अंगभंग भएका कामदारले पाउने आर्थिक सहायता, घरायसी काममा जाने महिलाहरुले काफला प्रणालीबारे जान्नैपर्ने कुुराहरु, गन्तव्य मुूलुुक पुुगेपछि ध्यान दिनुुपर्ने कुुराहरु, वैदेशिक रोजगारमा जानका लागि अनिवार्य गरिएका व्यवस्थाहरु, प्राविधिक सीप सीकेर जाने कुरा, काठमाडौँको त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र प्रयोग गर्ने, भारत विमानस्थल प्रयोग गर्दा ठगी र समस्यामा पर्ने, सम्बन्धित देशको राजदूतावास तथा अन्य सहयोगी निकायका ठेगाना र सम्पर्क नम्बर साथमा राख्नेजस्ता जानकारीहरु लिनुपर्ने हुन्छ ।
अर्कोतिर, विदेश गएपछि कमाएको रकम कसरी सुरक्षित राख्ने, आफू कसरी सुरक्षित बस्ने, यदि समस्यामा परेमा कसरी बच्ने, कसलाई भन्ने आदि कुराहरुमा पनि प्रस्ट हुनुपर्दछ । त्यस्तै, रोजगारीमा जाने देशको कानुन, ट्राफिक नियम, धर्म–संस्कृति व्यवहार, हावापानी, कामदारका आचरण, गर्न हुने वा नहुने कुराहरु, ठगीमा पर्ने कारणहरु, उजुरी गर्ने निकाय, सुरक्षित तरिकाले घरमा पैसा पठाउँदा आईएमई, बैंक तथा वित्तीय संस्थाहरुको प्रयोगलगायतका बारेमा बुझ्नैपर्ने हुन्छ । तर, यी कुराहरुको जानकारीको अभावमा ग्रामीण क्षेत्रका सोझासाझा जनताहरु वैदेशिक रोजगारको क्रममा विभिन्न कागजपत्रहरु मिलाउँदा नै बिचौलियाहरुको फन्दामा परेका छन् ।
निम्न कुराहरुको जानकारी प्राप्त भएमा पनि विदेशमा गएर सुरक्षित हुन सकिन्छ भन्ने कुरा बुझ्न जरूरी छ :
१. मानसिक तथा आर्थिक तयारी
२. नागरिकता र राहदानी
३. अभिमुुखीकरण
४. सीपमूूलक तालिम
५. रिक्रुटिङ एजेन्सी तथा गन्तव्य मुुलुुकको छनोट
६. स्वास्थ्य परीक्षण वा मेडिकल रिपोर्ट
७. पुुलिस रिपोर्ट
८. रोजगार भिसा
९. बिमा
१०. कल्याणकारी कोष
११. श्रम स्वीकृति
१२. करार पत्र
१३. कागजपत्रको सुुरक्षा र प्रतिलिपिको व्यवस्था
१४. त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग
१५. वैदेशिक रोजगारीका क्रममा कागजात पेश गरिसकेपछि श्रम स्वीकृति प्राप्त भए÷नभएका बारेमा पीपी स्पेस पासपोर्ट नम्बर टाइप गर्ने र ३४००१ मा म्यासेज गरेर थाहा पाउन सकिन्छ ।
तर, गाउँका युवाहरुलाई यी कुराहरुको जानकारी नभएका कारण विदेशमा धेरै युवाहरुले झन्झट ब्यहोर्नु परेको छ भने अर्कोतिर सम्बन्धित देशको वातावरण तथा रहनसहन नबुझ्दा दैनिक २ देखि ६ जना युवाहरुको लास नेपाल ल्याउने गरेको आँकडा छ । यस्तो दयनीय अवस्थालाई न्यूनीकरण गर्न सरकारले गाउँगाउँमा गएर वैदेशिक रोजगारसम्बन्धी जनचेतनाको ज्ञान प्रदान गर्नु अति आवश्यक छ । यिनै ज्ञानका कुराहरुको अभावमा बाध्यताले गर्दा बिचौलियाकोे आड लिएर आफ्नो गन्तव्य स्थान बनाउन बाध्य छन्, ती युवाहरु । केही बिचौलियाहरु यही मौकाको फाइदा उठाएर युवाहरुलाई घर न घाटको बनाउँदै उडुसले रगत चुसेझैँ गरी मोटाउँदै गइरहेका छन् ।
स्वदेशी रोजगारको विषयमा बढी जिम्मेवार भएर सोच्नुुपर्नेमा सरकारले विदेशी रेमिट्यान्सको आकर्षक आम्दानीका कारण युुवावर्गलाई स्वदेशमा राखेर विकासको मूूल प्रवाहमा समाहित गरी मालिक बनाउनुुपर्ने र देशलाई विकासको नयाँ उचाइमा पुु¥याउनेभन्दा पनि फ्रि भिसा फ्रि टिकटजस्ता अवधारणा ल्याएर विदेशी भूूमिमा पठाएर नोकर बनाउने योजनाहरु ल्याउने तथा त्यसका लागि उत्प्रेरित गर्ने गरेको देखिन्छ । यस्तो प्रवृत्तिले यो देशको विकास कसरी सम्भव हुुन सक्छ ? कतिले विदेशमा गएर राम्रो आम्दानी गरेका छन्, तर त्यस कमाइको दिगोपना देखिएको छैन । किनकि, निजीकर्ताको पुँजीलाई लगानीमा परिणत गर्ने वातावरण सरकारले मिलाउन सकिरहेको अवस्था छैन । त्यसैले, बेलैमा विदेशिने युुवाहरुलाई देशको विकासमा परिचालन गर्ने रणनीति ल्याउन अपरिहार्य देखिन्छ ।
अन्तमा, नेपाली युुवावर्गहरुलाई सकेसम्म विदेशको भूूमिमा रगत, पसिना नबगाई स्वदेशमै प्राकृतिक स्रोतहरुको सदुुपयोग तथा उद्यमशीलतासम्बन्धी कार्य गरी जीवनयापन गर्न सके स्वदेशमा नै मोतीका दाना फलाउन सकिने थियो र मुुलुुक समुुन्नतितर्फ अगाडि बढ्ने थियो भन्ने कुरामा कुनै दुईमत छैन ।
–अम्बिकाप्रसाद पौडेल
(लेखक : नारायणी बहुमुखी कृषि फर्म गैंडाकोटका कार्यकारी निर्देशक हुन् ।)
यो सामग्री राम्रो लागेमा वा यस्तै थप Post हरू चाहनुहुन्छ भने comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review