६. शान्ति र प्रजातन्त्र

६. शान्ति र प्रजातन्त्र

६. शान्ति र प्रजातन्त्र

तनाव र हिंसाविना आनन्दसँग बाँच्न पाउनु शान्ति हो भने जनताले जनताका लागि जनतामाथि गरिने शासन व्यवस्था नै विश्वव्यापी प्रजातन्त्र वा लोकतन्त्रको परिभाषा हो । हरेक मान्छेको चाहना शान्ति हो र यसको असली प्रत्याभूति लोकतान्त्रिक शासन व्यवस्थामा मात्र हुन्छ भन्ने कुराको पुष्टि भएको छ । जहाँ लोकतन्त्र छैन, त्यहाँ शान्ति प्रायः असम्भव नै हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थामै शान्तिको सुनिश्चितता हुने भएकाले शान्ति र प्रजातन्त्र एउटै सिक्काका दुई पाटा हुन् । प्रजातन्त्रको संरक्षण गर्दै समृद्व मुलुक निर्माण र दिगो शान्तिको प्रत्याभूति दिलाउनु सबैका लागि सुनौलो अवसर र चुनौती बनेको छ ।


आज शान्ति र प्रजातन्त्रबारे कलम चलाइरहँदा मेरो देशको इतिहास सम्झना आइरहेछ । इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र अपहरित भएका प्रसङ्ग र प्रजातन्त्रको उज्यालोका लागि पुर्खाले दिएको बलिदानी सिनेमाको रिलझैँ घुमिरहेछ मनभरि । शान्ति र प्रजातन्त्रकै लागि विभिन्न कालखण्डमा विविध क्रान्ति, आन्दोलन, अभियान आदि पनि चलेको पाइन्छ । ०७ सालमा प्रजातन्त्रको स्थापना भएपछि हालसम्म पनि प्रजातन्त्र, जनतन्त्र वा लोकतन्त्र भन्न छाडिएको छैन । ०६२÷०६३ को जनआन्दोनपछि हामी नयाँ शासन व्यवस्थाको अभ्यास गरिरहेका छौँ । पछिल्लो चरणमा हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । भर्खरै घोषणा भएको संविधानमा पनि शान्ति र लोकतन्त्रको पक्षमा संवैधानिक व्यवस्था मिलाइएको छ । यसको पृष्ठभूमिमा दसवर्षे सशस्त्र विद्रोह र बृहद् शान्ति सम्झौता रहेको ऐतिहासिकतालाई भुल्न मिल्दैन । त्यसो त, बृहद् शान्ति सम्झौतापछि पनि विनासकारी भूकम्प, तराई मधेसको आन्दोलन वा नाकाबन्दी आदिले शान्ति खलबलिएका घटनाहरु अझै ताजै छन् ।
म अलि–अलि सम्झन्छु । म सानै थिएँ । जिन्दावाद–मुर्दावादका गगनभेदी नारासहित आगोका ज्वालाहरु निस्किएका भाटाहरु (पछि थाहा भयो यसलाई मशाल भन्दा रहेछन् ।) लिएर आन्दोलनकर्ताहरु सडकमा उत्रिएका थिए । त्यो निकै भयभीत अवस्था थियो । मेरो बाल मस्तिष्कले त्यतिखेर के सोच्यो, मलाई थाहा छैन । म डराइडराई बुबालाई समात्दै कोठामा लुकेर बसेकी थिएँ । र, भयभीत अवस्थामा सडक चियाइरहेकी थिएँ । देशमा विभिन्न खाले युद्वहरु भए । र, यसको मारमा बालबालिका नै बढी परे । सुन्छु, युद्वमा धेरै बालबालिकाहरुको प्रयोग भएको थियो । सुरक्षा कवच, ढाल, लडाकुका रुपमा प्रयोग गरिएका ती बालबालिकाहरु त्यस आन्दोलनबाट ठूलो समस्यामा परेका थिए । युद्वमा कयौँले ज्यान गुमाए भने कयौँ अंगभंग भए । उनीहरुको प्रयोग र संलग्नताले धेरै बालबालिकाहरु शारीरिक रुपमा अपांग भए । अनेकमा मानसिक असरसमेत पु¥याएको थियो । कति बालबालिकाहरुले आफ्ना अभिभावक गुमाए । कतिले आफ्नो अबोध बालापन हराए भने कतिपयमा दीर्घकालीन असर पर्न गई उनीहरु मानसिक रोगीमा आफूलाई समेट्न बाध्य भए । अहिले ती बालबालिकाहरु ठूला भए होलान् । के सोच्दा हुन् आफ्नो विगत सम्झिएर ! जो अकारण युद्वका सिकार भए । मलाई लाग्छ, कोही आफ्नो कर्मलाई धिक्कारेर बसिरहेका होलान् । यसरी बालबालिकालाई लडाकु बनाएर तत्कालीन युद्धरत पक्षले आफ्नो भावी सन्ततिलाई नै बेवास्ता गरेको जस्तो मलाई लाग्छ ।


बालबालिकाहरु भोलिका राष्ट्र सञ्चालक, भोलिका आविष्कारक, वैज्ञानिक र कर्मठ नागरिक, शान्तिका लागि लड्ने शान्तिवीर र वीरपूर्ण जस्तै शक्तिशाली र पराक्रमी योद्धाहरु आज जोखिममा मोलिएका छन् । सशस्त्र विद्रोह, तराई मधेसका विद्रोह र आन्दोलनहरुले बालमस्तिष्कमा कस्तो प्रभाव पार्छ, हामी सबैलाई थाहा छ । हुन त, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको छ । विद्यालयका भित्तामा लेखिएका भद्दा नारा, विद्यार्थी संगठनको कार्यक्रममा जबरजस्ती बालबालिकाको प्रयोग आदिले हाम्रो मूल कुरालाई नै जिस्क्याएको जस्तो लाग्छ । म आफू नै कतिपटक उच्च अभिलाषाका साथ विद्यालय पुग्दा कुनै न कुनै बहानामा “आज पनि स्कुल बन्द अरे” भन्दै फर्कनु परेको छ । अझ, गत वर्षको शैक्षिक सत्रको सुरूमै भूकम्प र पछि संविधान घोषणा ताका एक महिनाजति नै विद्यालय बन्द भएको थियो । यसको प्रत्यक्ष असर भोलिका सुनौला भविष्य देख्ने विद्यार्थीहरुमा परेको छ । अझ तराई मधेसका विद्यालयहरु तीन–तीन महिनासम्म बन्द भएको खबरले मलगायत बालबालिका र शिक्षाका क्षेत्रमा उभिएकाहरुलाई नै स्तब्ध तुल्याएको छ ।


हामी लोकतान्त्रिक संविधान जारी भएको देशमा बस्छौँ । मानवअधिकार, बालअधिकारका चर्का कुरा गर्छौं । अझै पनि कतिपय गुरूबा–आमाहरु हातमा लठ्ठी लिएर तर्साउनुहुन्छ । सिकारू उमेरका हामी जिज्ञासु बालकहरु स–साना गल्तीमा पनि मारपिट खान बाध्य हुन्छौँ । बालमैत्री शिक्षा र शासनका कुरा पनि नसुनिएको हैन बेलामौकामा । तर, ती सबै भन्ने कुरा मात्र भएका छन् । कतिपय ठाउँमा अझै पूरा पाठ्यपुस्तक आइसकेको छैन । अझै पनि हामी आज बाटो बन्द नभए विद्यालय जान पाइएला कि भनेर बसेका छौँ । यतिमात्र कहाँ हो र ? विद्यालयमै बन्दकर्ताहरु आएर विद्यालयको ढोकामा ताल्चा–चाबी लगाइरहँदा नेपालको प्रजातन्त्रलाई नै खिल्ली उडाएको जस्तो लाग्छ ।


हामी बालबालिकाहरु शान्तिभूमिमा डन्डीबियो खेल्न चाहन्छौँ, खुला आकाशमा स्वतन्त्र भएर उड्न चाहन्छौँ । हामी ठूला आवाजमा स्वतन्त्रताका बालगीतहरु गाउन चाहन्छौँ । हामी रंगमञ्चमा गएर शान्तिवीरहरुको कथा पोख्न चाहन्छौँ । तर, हाम्रो अध्ययन पुस्तकमा मात्र सीमित छ । हामी हाम्रो घरमा समेत ठूलो–ठूलो स्वरमा गीत गाएर आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न सक्दैनौँ । हामी हाम्रो कपडामा फोहोर लाग्छ भनेर माटोमा गएर खेल्न पाउँदैनौँ । हामी कक्षाकोठाभित्र शिक्षकको त्रासले श्वास फेर्नसमेत डराएर पढिरहेका छौँ । हामी प्रजातान्त्रिक राष्ट्रमा रहेर पनि स्वतन्त्र रुपमा हिँड्न पाएका छैँनौँ, स्वतन्त्र हुन पाएका छैनौँ ।


प्रजातन्त्र भनेको उच्चतम शासनप्रणाली हो । लोकतन्त्र स्थापना भएको १० वर्ष भए पनि बालबालिकाहरु खतरामा छन् । दिनदिनै बालिकाहरु बलात्कृत भएका खबरहरु, इँट्टाभट्टाहरुमा, टेम्पो तथा बस, मिनीबसहरुमा, होटल तथा कलकारखानाहरुमा दुःखदायी काम गरिरहेका दृश्यहरु देख्दा यो निबन्ध लेखिरहँदा मलाई एक किसिमको नरमाइलो लागिरहेको छ । म अहिले १५ वर्षकी भएँ । बृहद् शान्ति सम्झौता हुँदा म जम्मा ५ वर्षकी थिएँ । तसर्थ, मलाई थाहा छैन कि त्यतिखेर के भयो ? त्यसमा के–के समेटियो ? म काठमाडौँ जाँदै थिएँ । एउटा मसरहको उमेरको केटा आएर मलाई “कता जाने हो ? जाम जाम” भन्दै थियो । मलाई लागेको थियो, ऊ कतै जाँदै छ । तर होइन रहेछ, ऊ त्यसै गाडीको खलासी रहेछ । म रोकिएँ । मलाई कक्षामा पढेको बालबालिकासम्बन्धी हकअधिकारको याद आयो । मलाई लाग्यो, उसले बालअधिकारको परिभाषालाई नै खिल्ली उडाएको छ । मेरै उमेरको बालकले मेरो सेवा गरिरहेको थियो । मलाई त्यस घटनाले पछि गएर बालबालिकाको शान्तिको क्षेत्रमा केही योगदान पु¥याउने छु भन्ने प्रतिबद्धता गर्न बाध्य तुल्यायो ।


प्रजातन्त्र भनेको विधिको शासन हो, व्यक्तिको होइन । यो निकै फराकिलो राजनीतिक प्रक्रिया हो । प्रजातन्त्रलाई लोकतन्त्र भन्दा पनि अनुचित नहोला । लोकतन्त्रले सबै कुराहरु समेटेको हुन्छ । लोकतन्त्र र शान्ति एकापसमा जोडिएका पक्ष हुन् । नङ र मासुजस्तै सम्बन्ध रहेका यी दुई पक्ष दुवैले बालबालिकाको हक र हितलाई पनि समेटेको हुन्छ । लोकतन्त्र भनेको जनताप्रति उत्तरदायी शासन व्यवस्था हो । शान्ति स्थापनाको निम्ति प्रजातन्त्रको असल कार्यान्वयनको आवश्यकता पर्छ । शान्ति सफलताको सूचक हो भने प्रजातन्त्र शान्तिको द्वार हो । जहाँ शान्ति छैन, त्यहाँ प्रजातन्त्र पनि आउँदैन । जहाँ प्रजातन्त्र नै छैन, त्यहाँ शान्तिको त कल्पना पनि गर्न सकिँदैन । निरंकुश शासनहरुमा शान्ति भनेको कोरा कल्पना मात्रै हो । त्यहाँ शान्ति भए पनि मुर्दा शान्ति हुन्छ, सिर्जनशील शान्ति हुँदैन । तसर्थ, शान्तिको साँचो अर्थमा उपयोगका निम्ति प्रजातन्त्र अपरिहार्य छ । प्रजातन्त्रको हावामा कार्यान्वयनको मलजलले नै शान्तिको बिरूवा फस्टाउन सकिन्छ ।


प्रजातान्त्रिक मूल्यमान्यतालाई कार्यान्वयन गराउनु सरकारको दायित्व हो । यसले सबै मानिसलाई सम्मान गरी यसको कार्यान्वयन गर्नमा जोड दिएको हुन्छ । यो स्वतन्त्रता, समानता र भाइचाराको आधारमा उभिएको हुन्छ । अझ नेपालको प्रजातन्त्र त विश्वलाई नै नमुना बनेको छ । लिंग, क्षेत्र, वर्ग, धर्म, वर्ण आदि कुनै पनि आधारमा कसैलाई भेदभाव गर्न नहुने कुरामा पनि यसले जोड दिएको छ । प्रजातान्त्रिक शासनमा मानिसहरुले आफ्नो धारणा स्वतन्त्र राख्न पाउँछन् । चाडपर्व, रहनसहन र खुशीयाली स्वतन्त्र रुपमा मनाउन सक्छन् । मैले यति धेरै प्रजातन्त्रका बारेमा चर्चा गर्दागर्दै पनि बालबालिकाहरु हिंसा र दुव्र्यवहारबाट टाढिएका छैनन् । बालश्रम, बालबालिकाको बेचबिखन र बालबिवाह, शोषण एवं मानसिक तथा शारीरिक सजायले बालबालिकाको हकअधिकारको हनन् भइरहेको छ । यसको अन्त्यका लागि पनि ठोस कार्यक्रम ल्याइनु आवश्यक छ ।


देशमा प्रजातन्त्र त आयो, तर अपेक्षित शान्ति स्थापना हुन सकेको छैन । आज विश्वभर शान्तिको अपेक्षा गरिएको छ । प्रजातन्त्रका विभिन्न मोडलहरुबारे पनि बहसहरु भएका छन् । हामी पनि संघीय लोकतान्त्रिक गण्तन्त्रको अभ्यास गरिरहेछौँ । यतिन्जेल प्रजातन्त्रका लागि जे–जस्ता दुःख पायौँ पायौँ, अब शान्ति र समृद्विका लागि लोकतान्त्रिक संस्कार र चरित्रको निर्माण गर्नुछ । गौतम बुद्वको पावन जन्मभूमिबाट पुनः शान्तिको ज्योति फैलाउनुछ विश्वभर । मेरा हजुरबा–आमा, बा–आमाको पुस्ताले जुन दुःख र हैरानी व्यहोर्नु प¥यो, आगामी भाइबैनीले त्यसलाई केवल इतिहासमा पढ्नेछन् भन्ने कामना गर्दै प्रजातन्त्रको लयमा शान्तिको गीत गाउँन सकूँ । नेपाली भएर जन्मेकोमा गर्व गर्नलायक नागरिकको परिचय दिन सकूँ ।

 

          –शिष्टता थपलिया

( नारायणी नमुना उच्च मावि, भरतपुर)

यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login