- Home
- Show Content
मेहनतको फल
मेहनतको फल
कुनै एउटा सानो गाउँमा राम र सीता नामका दुई जना मिल्ने साथी थिए । उनीहरु सबैसंग मिठा मिठा कुरा गर्थे । विद्यालयमा समयमै पुग्थे, साथीहरुसंग मिलेर खेल्ने गर्थे र मेहनत गरेर पढ्थें पनि । उनीहरुको मित्रता देखेर सबै चकित हुन्थे । उनीहरु अरु बच्चाहरु भन्दा अलि बढी चुलबुले र चकचके पनि थिए । सधै स्कुलबाट संगै घर फर्कि आफ्नो आफ्नो गृहकार्य सकेर बाहिर मिलेर खेल्ने गर्थे । बेला बेलामा एक अर्कासंग झगडा पनि गर्थे तर एकछिनमै मिल्थे पनि ।
समय बित्दै गयो सधै प्रथम स्थान हासिल गर्ने राम कक्षा ३ को अन्तिम परीक्षामा दोस्रो भयो र सीता प्रथम भई । रामलाई अलि नरमाइलो लाग्यो जहिले सीतासंगै घर फर्किने राम आज भने एक्लै स्कुलवाट घर फर्के । सीतालाई आफु प्रथम भएकोमा पाएको खुशी भन्दा रामको व्यवाहरदेखि चित्त दुख्यो । अरु दिन गृहकार्य सकेर बाहिर सँगै खेल्न आउने राम आज भने नआएकोले सीता पनि घर फर्कि । दिनहरु बित्दै गए राम हिजो आज पहिलेभन्दा अलि धेरै चकचके हुन थाले । स्कुल समयमै नआउने, गृहकार्य पनि नगर्ने र साथीहरुसंग मिलेर नखेल्ने बदमासी गरेर हिड्न थाले । स्कुल आउने भनि घरबाट निस्केर बाहिरै डुल्ने । अरुको बगैंचामा गएर फलफूल चोरेर खाने, तरकारीको बोटहरु उखेलेर फाल्ने, फूलको कोपिला टिपेर माटोमा मिल्काउने काम गर्न थाले । घरमा पनि समयमै नपुग्ने र बा आमासंग पनि झर्केर बोल्न थाले । छोरोको व्यवाहरमा आएको परिर्वतन देखेर घरका सदस्य र साथीहरु सबै दुःखी भए ।
एक दिन रमा मिसले रामलाई एक्लै अफिसमा बोलाएर कुरा गरे पछि राममा आएको परिर्वतनको कारण थाहा पाउनु भयो । राम त आफ्नो मिल्ने साथी कक्षामा प्रथम भएर पो सीतासंग नबोल्ने, स्कुल आउन नमान्ने भएको रहेछ । रामको कुरा सुने पछि रमा मिसले राम्रोसँग सम्झाउनु भयो । परीक्षामा जसले बढि मेहनत गर्छ ऊ नै प्रथम हुने हो र आज सीता प्रथम भई भोलि अरु नै हुन सक्ने कुरा बुझाउनु भयो । बरु अब आउने परीक्षामा राम्रो अंक ल्याउन मेहनत गरेर पढ्ने सल्लाह दिनु भयो साथै रामले नबुझेका पाठ भए स्कुलको छुट्टी पछि सिकाउने वचन रमा मिसले दिनुभयो । रामलाई आफ्नो काम प्रति पछ्तो लाग्यो र सबैसंग माफी मागे । भोलिबाट राम सबैसंग मिलेर बोल्न खेल्न र पढ्न थाले । समयमै विद्यालय आउन थाले ।
एकदिन रमा मिसले वातावरण विज्ञानको कक्षाका सबै विद्यार्थीहरुलाई स्कुलको चउरको खाली ठाउँहरुमा फूल रोप्ने जिम्मा दिनुभयो र कक्षाका सबै विद्यार्थीहरुको समूह विभाजन पनि गरिदिनु भयो । राम्रो फूलबारी स्याहार गरी हुर्काउनेलाई उचित पुरस्कार दिने निणय गर्नुभयो । समूहका सबै विद्यार्थीहरु स्कुल छुट्टी भएपछि आ–आफ्नो स्कुलको खाली चउरमा बगैंचा बनाउन जमेर लागे ।
राम र सीता पनि एबै समूहमा परेकाले मेहेनत साथ बगैंचा स्याहार्नतिर लागे । समय बित्दै गयो, राम पहिले झै सबैसँग मिलनसार हुन थाले र पढाइमा पनि मेहनत गर्न थाले । उसको मेहनत देखेर घरमा आमा बा र स्कुलमा पनि सबै खुसी भए । सीतासँग पनि पहिले झैं मिलेर खेल्न थाले । उनिहरु मिलेर आफ्नो भागको बगैंचा स्याहार्न थाले । घाँसहरु, झारपाल मिल्काउने, बोटमा सुकेका पातहरु भए निकाल्ने र दिनदिनै पानी दिने जस्ता कामहरु मिलेर गर्न थाले ।
दिनहरु बित्दै गए । केहि महिनापछि फूलहरु फुल्न थाले । राम र सीताको समूहले बनाएको बगैंचामा अरु साथीहरुको समूहभन्दा राम्रो देखियो । जहाँ राम्रा राम्रा रङ्गीचङ्गी फूलहरु फुल्न थाले । राम र सीताको समूह प्रतियोगितामा प्रथम भयो । प्रतियोगिता सके तापनि राम र सीता स्कुल सकाएर डे«स फेरेर केहि समय बगैंचा स्याहार्न र कोपिलाबाट फूल फक्रेको हेर्नमा रमाउन थाले । यसरी मेहेनती र लगनशील भएर काम गरेमा कुनै पनि कार्यमा सफलता मिल्ने कुरा रामले बुझे अनि आफ्नो स्कुलमा र घरमा पनि मेहनत गरी पढ्न थाले र सबैसँग मिलनसार व्यवहार गरि बस्न थाले ।
– रस फैजू श्रेष्ठ
facebook :


- Reviews (0)
Nothing Found...Leave a review