- Home
- Show Content
१७. नारी शिक्षा : आजको आवश्यकता
१७. नारी शिक्षा : आजको आवश्यकता
१७. नारी शिक्षा : आजको आवश्यकता
राष्ट्रका उत्थान र पतनमा नारी जातिका उत्थान र पतनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नारीहरुको सम्मान हुँदा राष्ट्र सम्मानित हुने र नारीहरुको अपमान हुँदा राष्ट्र नै ध्वस्त हुने र नारीहरुमा शिक्षाको ज्योतिपुज छरिँदा सिङ्गो राष्ट्रमा नै शिक्षाको आलोक फिँजिने हुँदा नारी शिक्षा आजको आवश्यकता भन्ने देखिन्छ ।
आफूलाई नुनिला आँशुका ढिका पिएर संसारलाई सुस्वाह र दुग्धामृत पिलाउने नारीले जीवनमा छोरी, दिदी, बहिनी, पत्नी, श्रीमति र आमा बनेर परिवार चलाएकी हुन्छिन् । सृष्टि बचाएकी हुन्छिन् र संसार सजाएकी हुन्छिन् । जीवनका प्रत्येक क्षणमा नैसर्गिक रुपमा, आफ्ना त्याग, स्नेह, समर्पण र कर्तव्य भाव देखाउने नारी युगौँयुगकी श्रद्धा हुन् ।तर आज नारी जाति प्रति हेरिने सामाजिक दृष्टिकोण संकुचित एवं सङ्कीर्ण देखिएको छ । पराईका घरमा जाने भनेर जन्मघरमा, अर्काको घरमा आएकी भनेर कर्मघरमा नारी उपेक्षित तथा अपहेलित छन् । त्यसैले त उनलाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुनुपरेको हो । चुलोचौकाको अँध्यारो चौघेरा भित्र खुम्चिनुपरेको हो । जुन परिवार, जुन राष्ट्र, जुन युगमा नारीहरु अशिक्षित हुन्छन् । त्यो परिवार असभ्य, त्यो राष्ट्र अविकसित तथा त्यो युग कालो युगको रुपमा चिनिन्छ ।
जुन परिवार, देशमा नारी शिक्षित छन् त्यो राष्ट्र र परिवार शिक्षित मानिन्छ र त्यो युग स्वर्ण युगका रुपमा मानिन्छ । त्यसैले नारी शिक्षा आजको अति महत्वपूर्ण आवश्यकताका रुपमा लिइएको छ । नारी सिङ्गो राष्ट्रकी मुहान हुन् । फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले भनेका छन् “तिमी मलाई असल आमा देउ, तिमीलाई म असल राष्ट्र दिनेछु ।”यस भनाईबाट असल राष्ट्र बन्नका लागि शिक्षित तथा सभ्य आमाको खाँचो रहेको बुझिन्छ ।
हुन पनि हो नारीका बहुआयामी रुपहरु मध्ये जननी सबैभन्दा माथिल्लो र समादरणीय रुप मानिन्छ । नारीको मूल मर्म पनि मातृत्वमा अडेको छ । नारी एक जननी हुन् जसले दश महिना सम्म शिशुलाई मर्ममा लुकाउँछिन्, त्यसपछि आफ्नो कोखबाट जन्म दिन्छिन् अनि सहस्र धारा दूध पिलाएर बालक हुर्काउनुलाई नै आफ्नो सर्वस्व ठान्छिन् ।
नवजात शिशुले आमाको काखलाई नै पहिलो पाठशाला ठान्दछ र आमाले बालकलाई उमेर अनुरुप सम्पूर्ण बानी व्यवहार कर्तव्य, आदर सत्कार, मायाममता दिएर हुर्काएकी हुन्छिन् । यदि आमा अशिक्षित भएमा यो सम्पूर्ण कुराबाट बच्चाहरु वञ्चित हुन्छन् ।
एउटा भनाई छ आमा शिक्षित छन् भने घरपरिवार, छरछिमेक, गाउँटोल, समाज र राष्ट्र शिक्षित हुन्छ । पुरुष शिक्षित छ भने उ मात्र एक्लै शिक्षित हुन्छ । त्यसैले शिक्षित नारीबाट सभ्य समाजको सृजना हुन्छ । सभ्य आमाबाट बालबालिकाले आफ्ना नैसर्गिक अधिकारहरु प्राप्त गर्न सक्छन् । प्रत्येक शिक्षित आमाका काखबाटसुशिक्षित नागरिकहरु जन्मन्छन् ।
सुयोग्य व्यक्तिहरु पैदा हुन्छन् जसले गर्दा सिङ्गो राष्ट्र समुन्नत तर्फ अग्रसर हुन्छ । तसर्थ असल आमा भईन् भने असल राष्ट्र बन्न सक्ने हुँदा असल आमा बनाउनका लागि नारीलाई शिक्षा दिनु अत्यन्त आवश्यक छ, यसबाट पनि नारी शिक्षाको सर्वोपरी महत्व रहेको बुझिन्छ ।
परापूर्वकालमा वैदिक युगमा नारी शिक्षित थिए र त्यो युग स्वर्ण युगका रुपमा चिनिन्थ्यो । त्यतिबेला नारी शिक्षाको प्रचार भएकाले नारीहरु आजीवन शिक्षामा तल्लीन भएर आत्मा र परमात्माको खोजी गर्दथे भने कयौँ नारीहरु वैवाहिक जीवनमा प्रवेश गर्नुअघि आफूलाई सुशिक्षित तुल्याउँथे । त्यसबेला ब्रह्मावादिनी र सद्योद्राहा गरेर दुई किसिमका शिक्षित नारी वर्गहरु थिए ।
आजीवन धर्म र दर्शनशास्त्रको अध्ययन गर्ने र ज्ञान आर्जन गर्ने, घर गृहस्थी तर्फ भन्दा अध्ययन लेखन, चिन्तन, मनन र बौद्धिक विकासमा संलग्न रहने नारीहरु ब्रह्मवादिनी भनेर चिनिन्थे । अर्काथरी आफ्नो साधारण जीवन निर्वाह गर्न मात्र अध्ययन गर्ने त्यसपछि वैवाहिक बन्धनमा बाँधिने गर्दथे, ती नारीहरुलाई सद्योदाहा भनिन्थ्यो ।
महर्षि दीर्घतमाकी आमा ब्रह्मवादिनी ममताले लेखेका आदिदेवको स्तुती ऋग्वेदका ऋचाका रुपमा सुरक्षित छ भने महर्षि दीर्घमाताकी छोरी ब्रह्मवादिनी विदुषी आकिजले आजीवन वैदिक धर्मदर्शन तथा विज्ञानमा लीन भएर गरेको ख्यातिले वैदिक युगमा पनि नारीहरु धेरै शिक्षित भए भन्ने प्रष्ट हुन्छन् ।
त्यसैले जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन् । नारी अशिक्षित भएमा सिङ्गो राष्ट्र नै अपाङ्ग हुन पुग्दछ । आजका पुरुषहरुले २१ औँ शताब्दीको संघारमा आउँदा पनि नारीलाई हेर्ने दृष्टिकोण जबसम्म सकारात्मक हुन सक्दैनन् । त्यसैले नारी शिक्षा आजको अपरिहार्य आवश्यकता देखिन्छ । शिक्षित नारीहरु नै समाजमा मेलमिलाप र शान्ति कायम राख्न सक्षम हुन्छन् ।
नारी शिक्षित भएमा सिङ्गो समाज तथा राष्ट्र शिक्षित हुने भएकाले त्यसबाट समाज र राष्ट्र समेत सभ्य एवं सुसंस्कृत हुने कुरा निर्विवाद छ । नारी शिक्षाको चेतनाका किरण गाउँ गाउँमा फिजाई मुलुकलाई अशिक्षाको चक्रव्यूहबाट उम्काएर शिक्षा र सभ्यता रुपी चेतनाको चम्किलो ज्योति प्रदान गर्नुपर्दछ ।
writer –सावित्री घिमिरे
यो सामग्री राम्रो लागेमा वा यस्तै थप Post हरू चाहनुहुन्छ भने comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review