३२. विद्यार्थी र राजनीति

३२. विद्यार्थी र राजनीति

३२. विद्यार्थी र राजनीति


“नेपालको भाग्य विधाता, नेपाल आमाको अधिकारी । नयाू नेपाल बनाउन, अगाडि आऊ नेपालका विद्यार्थी ।। आजको विद्यार्थी नै भोलिको नेता र राष्ट्रका कर्णधार हुन् । हुनत विद्यार्थीको प्रमुख लक्ष्य ज्ञानार्जन र विद्या अध्ययन हो तर के पनि सत्य हो भने वर्तमानमा विद्यार्थीका लागि देशको संस्कृति, सभ्यता तथा विद्यार्थी राजनीतिसँग परिचित हुनु पनि नितान्त आवश्यक छ । विद्यार्थीहरूले जीवनमा सफलता पाउनका लागि अनेक प्रकारको सीपबारे जान्नुपर्ने हुन्छ । यस्ता सिकाइले उनीहरूको आधारशीला बलियो पार्ने काम गर्दछ । यदि विद्यार्थीहरूलाई सही मार्गदर्शन दिन सकियो भने उनीहरूको क्षमतालाई राष्ट्र निर्माणमा प्रयोग गर्न सकिन्छ ।


    यहाँ राजनीतिको अर्थ राज्यलाई डोर्‍याउने नीति हो । प्राचीनकालमा जहाँ राजनीतिको क्षेत्र शासक, लेखक वा दार्शनिकसम्म मात्र सीमित थियो, त्यहीं वर्तमानमा यसको क्षेत्र अत्यधिक विस्तृत भएको छ । आज जनसाधारणलाई पनि शासनको प्रत्येक गतिविधि बुझ्ने अधिकार हाम्रो संविधानले दिएको छ । वर्तमान राजनीतिमा हुने हरेक क्रियाकलापमा विद्यार्थीहरूको सहयोग र सक्रियता देखिएको छ । आज हाम्रो देशका कैयौं नेताहरू विद्यार्थी जीवनबाट नै राजनीतिमा प्रवेश गरेको पाइन्छ । यस कारण विद्यार्थीहरूलाई परिवर्तनको संवाहक पनि भन्ने गरिन्छ ।


    विद्यार्थीहरूले राजनीतिमा भाग लिनुहुन्छ वा हुँदैन, यस विषयमा समाजको एक वर्ग के भन्छ भने विद्यार्थीहरूले राजनीतिमा भाग लिनु उचित होइन । उनीहरूको भनाइ अनुसार विद्यार्थीहरूले अर्जुन जस्तै चराको आँखारूपी विद्यालाई नै आफ्नो लक्ष्य बनाउनुपर्दछ । विद्यार्थी जीवन भावनाप्रधान हुन्छ । उनीहरूद्वारा गरिने क्रियाकलापमाथि मस्तिष्क हैन, मनको नियन्त्रण हुन्छ । यस कारण विद्यार्थीहरूलाई प्रारम्भदेखि नै राजनीति सिखाउनुको अर्थ गाईले बाछा जन्माउनु साथ हलोमा जोतिदिनु हो । विद्यार्थीले राजनीतिमा भाग लिएमा उनीहरूको मन भट्किने सम्भावना प्रशस्त हुन्छ जसले गर्दा उनीहरूको जग बलियो नहुने सम्भावना बढी देखिन्छ । यस कारण शिक्षाविद्हरूले के भनेका छन् भने विद्यालयलाई राजनीतिको दूषित प्रभावबाट बचाउनु छ भने सत्र वर्षभन्दा कम उमेर समूहका विद्यार्थीहरूलाई विवादपूर्ण राजनीतिबाट टाढा राख्नु नै उचित हुनेछ र यसको साथसाथै उनीहरूलाई निर्वाचन कार्यमा पनि प्रयोग गर्नु उचित होइन ।


    तर केही मानिस विद्यार्थीहरूले राजनीतिमा भाग लिनुपर्छ भन्ने पक्षमा वकालत गरिरहेका छन् । उनीहरूको भनाइ अनुसार विद्यार्थी राष्ट्रको जग हुन्छन् । यदि जग नै बलियो भएन भने राष्ट्ररूपी भवन पनि बलियो हुन सक्दैन । राष्ट्रिय गौरव वा राष्ट्रिय स्वाभिमान माथि खतरा उत्पन्न भएको बेला विद्यार्थीहरूले आफ्नो दायित्व निर्वाह गर्दै साहसको प्रदर्शन पनि गर्नुपर्ने हुन्छ । यस कारण चाहिएको बेला विद्यार्थीहरूले राजनीतिमा भाग लिनु उचित देखिन्छ तर उनीहरूलाई सक्रिय राजनीतिबाट टाढा राख्नु नै बेस हुनेछ ।


    यदि गम्भीरतापूर्वक सोच्ने हो भने यी दुवै खाले कुराहरू तर्कस·त देखिन्छन् । हिन्दू संस्कृति अनुसार विद्यार्थी जीवनलाई ब्रह्मचर्यको अर्को रूप पनि भनिएको छ । वेदमा यस बेला विद्यार्थीहरूलाई नगरबाट टाढा, गुरुको चरणमा बसेर विद्या प्राप्त गर्नुपर्छ भनिएको छ, किनभने विवेक त्यस बेला जाग्रत हुन्छ जति बेला उनीहरूको शिक्षा पूर्ण हुन्छ । विवेक द्वारा नै असल वा कम असल, राम्रो वा नराम्रो कुराको पहिचान गर्न सकिन्छ । किशोरावस्थामा विवेक जाग्रत हुँदैन र अरूको पछि लागेर सन्तुलित ज्ञान प्राप्त हुँदैन । यस बेला मात्र हुल्लडबाजी हुन्छ र कुनै राम्रो काम गर्न सकिंदैन ।


    वर्तमानका राजनीतिक हस्तीहरूसँग मेरो विनम्र निवेदन के छ भने उनीहरूले विद्यार्थीहरूलाई राजनीतिक लक्ष्य प्राप्तिका औजार नबनाऊन्, किनभने यसबाट विद्यार्थीहरूको शिक्षा प्रभावित र बाधित हुनुका साथै राष्ट्रको पनि नोक्सान हुन्छ । राजनीतिमा कहिले सत्यको सहारा लिनुपर्छ भने कहिले असत्यको, कहीं मीठो बोली काम लाग्छ भने कहीं हतियारको प्रयोग पनि गर्नुपर्ने हुन्छ । यसबाट कलिलो विद्यार्थीहरूको सात्विकता नै सखाफ भएर जान्छ । दुष्ट मानिसहरूको स·तिले निर्मल प्रकृतिका विद्यार्थीहरूलाई पनि दुष्ट बनाइदिन्छ । दुष्ट राजनीतिज्ञहरूको कठपुतली बनेर विद्यार्थीहरूले सार्वजनिक स्थल तोडफोड गर्ने, हिंसा र आगजनी गर्ने, चन्दा असुली गर्ने, एक अर्कालाई धमक्याउनेजस्ता काम समेतमा संलग्नता पाइएको छ । यस कारण राजनीतिक नेताहरूले विद्यार्थीहरूलाई पहिला वास्तविक राजनीतिको ज्ञान दिनुपर्दछ । यो यस कारणले पनि दिनुपर्छ किनभने उनीहरूले सही र गलतको पहिचान गर्न सकून् र राष्ट्र निर्माणमा आफूलाई सही तरिकाले स्वपरिचालित गर्न सकून् ।


    विद्यालयमा हुने अस्वस्थ राजनीतिले गर्दा विद्यार्थीहरूमा अनुशासनहीनता एउटा भयड्ढर समस्याको रूपमा देखा परेको छ । यस समस्याको प्रमुख कारण वर्तमानको राजनीति र राजनेता हुन् । राष्ट्रको भावी जीवनलाई सुन्दर र बलियो बनाउन जुन मूल्य र गुणहरूको आवश्यकता पर्दछ, विद्यार्थीहरू त्यसलाई विध्वंस गर्नेतर्फ तत्पर देखिन्छन् । राजनीतिज्ञहरूले आफ्नो स्वार्थका लागि विद्यालयलाई नै आफ्नो हत्केलाको कठपुतली बनाएको सबैलाई अवगत नै भएको कुरो हो । यी नेताहरूले विद्यालयमा चुनाव, हडताल र नाराबाजी गराएर दिशाहीन विद्यार्थीहरूको बाँधको सहारा लिई सत्ता प्राप्त गर्ने प्रयासमा लागेको छर्ल· छ ।


    हाम्रो शिक्षा प्रणाली पनि दोषपूर्ण छ, किनभने यसले मात्र पुस्तकीय ज्ञान दिने गरेको छ । चारित्रिक र नैतिक मूल्यवृद्धिमा आधुनिक शिक्षाको धेरै कम योगदान रहेको पाइन्छ । आज बेराजगारहरूको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । राजनीतिक अस्थिरताले गर्दा देशका युवापीढी विदेशिन बाध्य भएका छन् । अशिक्षा तथा अज्ञानताको कारण अभिभावकहरूले पनि आफ्नो सन्तानलाई सही मार्ग निर्देशन दिन सकिरहेका छैनन् । यसको एक मात्र कारण देशमा राजनीतिक खिंचातानीलाई लिन सकिन्छ । २०६२/०६३ को जनान्दोलनले दिएको निर्देशन राजनीतिक स्वार्थका कारण पूरा हुन सकिएको छैन ।


    प्राचीनकालमा राजाको पुत्रहरू पनि राजनीतिबाट टाढा भएर शिक्षा प्राप्त गर्दथे । वर्तमान राजनीतिज्ञ आदर्श र त्यागको मार्गलाई बिर्सेर धेरैभन्दा धेरै सम्पत्ति आर्जन गर्नतर्फ उत्प्रेरित छन् । विद्यार्थीहरू पनि उनीहरूको वैभव र अधिकारलाई हेरेर राजनीतिज्ञ बन्ने चाहना राख्छन् तर एउटा राम्रो विद्यार्थीले राजनीतिको हिलोबाट आफूलाई बचाएर राष्ट्र सेवा र निर्माणतर्फ उन्मुख हुनुपर्छ । विद्यार्थीहरूमा राजनीतिक ज्ञान हुनुपर्छ, तर विद्यार्थी जीवनमा आफूलाई सक्रिय राजनीतिबाट टाढा नै राख्नुपर्छ । यस कारण के भनिएको छ भने, “सुखार्थी वा त्यजेत विद्याम्, विद्यार्थी वा त्यजेत सुखम् । सुखार्थिन: कुतो विद्या, विद्यार्थिन: कुत: सुखम् ।।    

     
    यस कारण विद्यार्थीहरूले मध्यम मार्ग अवलम्बन गर्दै राजनीतिमा भाग लिनुपर्छ । राजनीतिमा भाग लिंदा पनि तटस्थ बस्ने प्रयास गर्नुपर्छ । उनीहरूले आफ्नो अध्ययनमा बढी ध्यान दिएर राजनीतिक गतिविधिबारे जानकारी लिई राख्नुपर्छ । जुन बेला उनीहरूले सुयोग्य मार्ग चिन्ने सामथ्र्य प्राप्त गर्छन्, अनि मात्र उनीहरूले राष्ट्रको आर्थिक, औद्योगिक र सामाजिक प्रगतिमा सहायक सिद्ध हुन्छन् र आफू पनि एउटा राम्रो नेता बन्न सक्छन् ।


    यद्यपि विद्यार्थीहरूले राजनीतिमा प्रवेश गर्नुहुँदैन भन्ने कुरा पूर्ण सत्य हो तर पनि यदि विद्यार्थीलाई राष्ट्रको नेतृत्व गर्नुछ भने राजनीतिमा प्रवेश गर्नुपूर्व आफ्नो क्षमता विकास गर्नुपर्छ । विद्यार्थीहरूले देशको निर्माणात्मक राजनीतिमा भाग लिनुपर्छ । राजनीतिमा सक्रिय हैन, आंशिक क्रियाशीलता नै विद्यार्थीहरूका लागि उचित पनि हो । बलियो आधारशीलामाथि उभिएर वर्तमानका विद्यार्थी सभ्य, सुसंस्कृत र जागरुक नागरिक बनेर राष्ट्र विकासको ढोका खोल्न सक्छ । विद्यार्थीहरूलाई उनीहरूको भविष्यसँग खेलवाड गर्ने राजनीतिज्ञहरूसँग सतर्क भई बस्नु नै वर्तमानको खाँचो हो ।

writer- अनन्तकुमार लाल दास

यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login