- Home
- Show Content
42. बदलिँदो जीवनशैली र नेपाली संस्कृति
42. बदलिँदो जीवनशैली र नेपाली संस्कृति
- बदलिँदो जीवनशैली र नेपाली संस्कृति
नेपाली समाज सदियौंदेखि जाती, भाषा, संस्कृति र संस्कारको कोणबाट एकताबद्ध समाज हो । नेपाली समाजका आफ्नै खालका मौलिक विशेषताहरु छन् । नेपाली समाजका संस्कृति, मूल्य मान्यता र सभ्यताहरुले नेपालीहरुलाई समानता, शिष्टता, मौलिकता र स्वाभीमानको पर्यायको रुपमा उभ्याएका छन् । आफ्नै मौलिक पहिचान झल्कने भेषभुषा तथा शैलीहरु पनि नेपाली समाजका गहना हुन् । नेपाली समाज मूलतः जातीय, भाषिक र सांस्कृतिक हिसावले विश्वभर चिनिएको छ । कतिपय रुढीवादी परम्पराहरुका बाबजुद नेपाली समाजलाई धार्मिक हिसावले पनि निकै प्रशंसाका साथ हेरिन्छ । धार्मिक, जातीय, भाषिक र सांस्कारिक विविधताका कारण नेपाली समाजले आफ्नो विशिष्टता बढाएको छ ।
नेपाली समाजका यिनै मौलिक विशेषतासंग गाँसिएको एउटा विषय चाडपर्व हो । चाडपर्वहरुले हाम्रो संस्कार र संस्कृतिलाई निरन्तरता दिएका छन् । सभ्यताको विकास र नयाँ पुस्तामा सभ्यताको हस्तान्तरण संस्कृति र संस्कारबाट नै हुने गर्छ । संस्कार र संस्कृतिको हस्तान्तरणको सबैभन्दा महत्वपूर्ण पक्षको रुपमा रहेको चाडपर्वहरु विज्ञान, आधुनिकता, विकास र जीवनशैलीसंगै बदलिएका छन् । अघिल्लो पुस्ताले मनाउने चाडपर्व, वोल्ने भाषा, प्रस्तुत गर्ने शील स्वभाव पछिल्लो पुस्ताले परिस्कृत गर्दै ग्रहण गरेको छ । कतिपय अवस्थामा क्रमभंगताले गर्दा अस्वभाविकता पनि देखिएको छ ।
समाज विकास र नेपाली मौलिक संस्कृतिको क्रमबद्ध हस्तान्तरणका लागि नेपाली समाजले सचेत हुन आवश्यक देखिएको छ । आफ्नो समाजको विकासक्रममा देखिएका असहजता र अवैज्ञानिक सन्दर्भहरुलाई संस्कृति र सभ्यताको विकासका साधकका रुपमा लिँदै परिस्कृत गर्नुपर्ने आवश्यकतासहित रुपान्तरणको खाका बनाउन आवश्यक छ । जीवनशैली बदलिएको छ । आवश्यकताहरु बदलिएका छन् । सपना र सम्भावनाहरु बदलिएका छन् । हिजोको जस्तो फुर्सदिलो समय अहिले छैन । त्यसैले हिजो जस्ता लामा चाडहरु आज आवश्यक हुँदैनन् । हिजो अविकसित समाज हुँदाका कारण आफन्त भेटघाटका लागि टाढाटाढाबाट आउन समय लाग्ने भएकाले लामो समयका लागि मनाइने गरिएका चाडहरुलाई संश्लेषण गर्दै छोट्याउँदै संक्षेपमा सम्पन्न गर्नुपर्ने आवश्यकता र सहजता देखिएको छ ।
समाजको सम्पन्नताका र समृद्धिका महत्वपूर्ण पक्षहरुमध्ये एउटा संस्कृति पनि हो । संस्कृतिबेगरको समाज समृद्ध हुन सक्दैन । त्यसैले संस्कारहरुको निरन्तरताका लागि चाडवाडहरु मनाइनु आवश्यक नै हुन्छ । यस बाहेक पनि चाडवाड र संस्कृतिको निरन्तरताका सन्दर्भमा बदलिँदो जीवनशैलीले पारेका प्रभावमा सचेत हुन जरुरी छ ।
राजनीतिक तथा सामाजिक क्षेत्रमा संलग्नहरुलाई पनि चाडपर्व तथा संस्कृतिको निरन्तरताका सामाजिक पक्षहरु अभिन्न अंग हुन् । चाडपर्व, मृत्यु संस्कार, जन्म संस्कार लगायतका क्रियाकलापहरुले एकता सहअस्तित्व, सम्बन्ध लगायतका महत्वपूर्ण कुराहरुमा सकारात्मक असर पारिरहेको हुन्छ । व्यक्तिगत भेटघाटले सम्बन्धमा नवीकरण गराउने तथा अन्य सूचना आदानप्रदान नयाँ पुस्ताका सदस्यहरुसंग अन्तरंग सम्बन्ध आदानप्रदान लगायत सहज बनाउँछ । तर आयातित संस्कृतिका प्रभावका कारण यस्ता क्रियाकलापहरु जन्म, मृत्यु लगायतका संस्कारहरुलाई सहज बनाउने नाममा हटाइने क्रियाकलापले मानव समुदायलाई टाढा बनाइरहेको छ । यसले भौतिकता र आधुनिकताको नाममा हार्दिकता र मानवताको नै न्युनीकरण गराईरहेको देखिन्छ ।
नेपाली समाजले संस्कारको रुपमा ग्रहण गरेका जन्म संस्कार, मृत्यु संस्कार बाहेक चाडपर्व, गाउँसभा बस्ने दिन आदि र सान्दर्भिक स्थानीय मेलाहरुको महत्व अलग्गै छन् । छिमेकीबीचको हार्दिकता र एकता तथा सहअस्तित्वको भावना बढाउन मेलापात, घर छाउने लगायतका चलनहरुले जसरी सकारात्मक प्रभाव पारिरहेका थिए । क्रमशः आधुनिकता संगै तिनीहरुमा ह्रास आएको छ ।
आधुनिकता आवश्यकता हो, तर नयाँ पुस्तालाई संस्कृति र संस्कारको आवश्यकता र औचित्यतासहित बुझाउन नसकि आधुनिकताका नाममा मात्रै संस्कृति र संस्कार त्याग्न अवस्था बन्नुमा समाज, राज्य, हरेक व्यक्ति जिम्मेवार बन्छ । हरेक व्यक्तिले यसमा आफ्नो दायित्व बहन गर्नुपर्छ । आफ्नो दायित्व ग्रहण गर्नुपर्छ । ढिकी जाँतोको चलन, घर चोख्याउने पोत्ने चलनहरु, चाडपर्वमा गाउँभरीको ठूलो चौरमा पिंग हाल्ने चलन लगायतका थुप्रै चलनहरु संस्कार र संस्कृतिको निरन्तरताका लागि पनि चलाइएका हुन् । संस्कार र संस्कृति चाडपर्वको रुपमा देखिएर सभ्यता र समाज विकासको क्रमलाई नयाँ पुस्तामा हस्तान्तरण गर्छन् । सभ्यताको हस्तान्तरणका यस्ता साधनहरु खास समुदायका पृथक हुन सक्छन्, हुन्छन् ।
राज्य, समाज वा सरकार संस्कृति र संस्कारको संरक्षक बन्नुपर्छ । राज्यले विविध जाती, भाषा र भूगोलका संस्कार र संस्कृतिहरुलाई एकताबद्ध बनाउने खालको हुनुपर्छ । संस्कृतिको संरक्षण र विकास सही, सन्तुलित र दूरगामी महत्वका दृष्टिले गर्नुपर्छ भन्ने सोंच राज्य वा सरकार प्रमुखसंग हुनुपर्छ । हाम्रो नेपाली समाज यतिबेला राजनीतिक तथा सामाजिक हिसावले एउटा संक्रमणकालीन खण्ड पार गरेको अवस्थामा छ तर पनि स्थायी प्रभाव पार्ने केही पक्षहरुमा पुरानै सोंच छ । सोंचले नै संस्कारको हस्तान्तरणमा सेतुको काम गर्छ । त्यसैले सबैले सकारात्मक सोचको विकास गर्नु जरुरी छ ।
by ;सुनिता बराल
यो सामग्री राम्रो लागेमा वा यस्तै थप Post हरू चाहनुहुन्छ भने comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review