48. सडक दुर्घटना र न्यूनिकरणका उपाय

48. सडक दुर्घटना र न्यूनिकरणका उपाय

48. सडक दुर्घटना र न्यूनिकरणका उपाय

सडक यातायात नेपालीको विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो र अनिवार्य यात्राको माध्यम हो । तर सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नागरिकले अकाल मृत्युवरण गर्नु परेको छ । अपांङ्ग भएर बाँच्न बाध्य छन्, धनको क्षति त्यतीकै छ दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती भईरहेको छ ।

सवारी दुर्घटनाका कारणलाई मुख्यतः सडकको दुरावस्था, पुराना गाडीको प्रयोग र सवारी चालकको लापरबाहीलाई लिने गरिएको छ । सडक दुर्घटनाको प्रमुख कारकमा सडक इन्जिनियरिङ नै हो । कच्ची बाटोमा हुनुपर्ने जति चौडाइ नहुने, घुम्तीमा मोड सानो बनाइने, बाटोको छेउमा सुरक्षा खम्बा नराखिने आदिका कारण दुर्घटना भयानक बनेको छ । यसैगरी थोत्रा गाडी ग्रामीण क्षेत्रमा कुदाउन अनुमति दिनाले सवारी दुर्घटना भएको हो । खासगरी कच्ची सडक र पहाडी बाटोमा भएको सवारी दुर्घटना बढी क्षतिजन्य बन्दै आएको छ ।

रूट सिण्डिकेटलाई तोडन नसक्दा नयाँ र सुविधा सम्पन्न गाडीको उपयोगबाट यात्रु वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । पहाडी रूटमा गाडी चलाउन चालकलाई बढी अनुभवको आवश्यकता पर्छ । यसैगरी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउने कारण धेरै दुर्घटना भएका छन् । विश्वव्यापी सडक दुर्घटनाको अनुपातलाई हेर्ने हो भने नेपाल घातक सडक दुर्घटना हुने मुलुकमध्ये पर्छ । विकसित मुलुकको तुलनामा नेपालमा सयौँ गुणा दुर्घटना हुन्छन् ।

यातायात श्रमिक (चालक) ले  तीव्र गतिमा सवारी चलाउने, अनावश्यक प्रतिस्पर्धा,  प्राविधिक तथा यान्त्रिक खरावी भएको सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर नयाँ र अप्ठ्यारो सडकमा सवारी चलाउने, हेलचेक्र्र्याई तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठुला सवारी चलाउनु, सडक प्रयोगबारे ऐन कानुन बारे चेतना नहुनु दुर्घटनाका कारण हुन् ।

पुराना र पाका चालकहरु सुरक्षित भविश्य र राम्रो ज्यालाको खोजीमा खाडी मुलुक तर्फ लर्को लागेर जाने गरेका छन् । अहिले नयाँ चालकहरुको प्रवेश कार्यथलोमा बढेको छ । अहिलेका चालकहरु प्राय युवा भएकाले पनि दुर्घटना बढेको छ ।

सार्वजनिक यातायात सेवामा निजी लगानीका कारण सेवामुखी भन्दा नाफामुखी भएको छ ।  धेरै कमाउन क्षमता भन्दा बढी यात्रु चढाउने, प्राविधिक तथा यान्त्रिक रुपमा ठिक नभएका सवारी मर्मत नगरी गुडाउने, मिस्त्रीले सामान फेर्न सल्लाह दिएपनि जवरजस्ती त्यस्तै अवस्थामा चलाउने, कलेक्शन (पैसा) थोरै हुँदा रिसाउने, सेवामुखि समयसारिणी बनाउनु भन्दा पैसामुखि, सेवा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत हुदै कमाउ मानसिकताका कारण सडक दुर्घटना निम्तीएको छ । साथै पेशाप्रति गैर जिम्मेवार, ठेक्कामा जिम्मा लगाउने प्रवृतिले पनि दुर्घटना बढेको छ ।

सडकप्रयोगकर्ता चार पाङग्रे, दुई पाङग्रे भएभरका सवै सवारी साधन तथा मानिसले प्रयोग गर्ने सडक नै हो । सडक साझा सम्पति हो तर त्यसलाई प्रयोग गर्नेहरुले कहिलेकाहीं त्यो कुरा विर्सने गरेका छन्, आफुलाई सहज खोज्दै अरुको सडक प्रयोग गर्ने अधिकारलाई हनन् गर्ने गर्दछन् जसका कारण दुर्घटना हुने गरेको छ ।

यात्रु पनि झुण्डिएर, कोचिएर, हुडमा चढेर यात्रा गर्नुहुदैन भन्ने चेतना नहुनु,  आफुलाई सहज हुनेगरी घरकै छेउमा, भनेकै ठाउमा, भन्ने वित्तिकै सवारी रोक्न लगाउन चालकलाई दवाव दिनु हुदैन भन्ने चेतना नहुनु दुर्घटनाको अर्को कारण हो । कसरी सडक पार गर्ने, भन्ने चेतना नहुनु, कुदिरहेको सवारीलाई रोक्न कति लामो ठाउँ चाहिन्छ भन्ने नबुझी अटेर गरि सडक पार गर्न खोज्नु, यान्त्रिक गडबडी हुँदा तत्काल ब्रेक लाग्दैन भन्ने नबुझ्नु, फुटपाथमा हिड्नु पर्छ सडक मोटर गुड्ने ठाउँ हो भन्ने नबुझ्नु दुर्घटनाको अरु कारण हुन् ।

अर्कोतर्फ जनताका सेवाका लागि यातायातको साधनको आयातमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको  काम वैज्ञानिक र व्यवहारिक देखिएन । सर्वसाधारणको सेवा दिने ठुला सवारी साधनहरु थोरै आयातले यात्रुहरुले कोचिएर यात्रा गर्नु पर्ने अवस्था भयो । निजी सवारी साधनहरु मोटरसाइकल, कार आयात भने अनियन्त्रीत भित्रिनाले सडकमा भिड सिर्जना गरिदियो जसले दुर्घटनालाई निम्त्यायो ।

ट्राफीक प्रहरी यस प्रकारका दुर्घटनाका सरकारी नियन्त्रक हुन् । उनीहरु पनि सडक दुर्घटना हुन नदिन बैज्ञानिक ढंगको कार्ययोजनाहरु ल्याउन जरुरी देखिन्छ । सवारी चालक, यात्रु सबैले सही तवरले यात्रा गर्दा यस्ता समस्याको समाधान स्वत हुने देखिन्छ । ट्राफीक नियम र बिधी हरुको ट्राफीक प्रहरी देखी  सबैले संयमता पुर्वक तरिकाले अपनाउन सक्नु पर्छ । ताकि सडक दुर्घटना खुल्ला बन्दै नजाओस् । एक पक्षले अर्कालाई दोषारोपण गरिरहने भन्दा पनि सडक दुर्घटनाका पक्षहरु को–को हुन्, न्युनीकरणका लागि के गर्नु पर्छ, नीतिगत रुपमा के परिवर्तन गर्नु पर्छ भन्ने बारेमा सबैको ध्यान आकृष्ट हुन जरुरी छ ।

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न कच्ची सडकको स्तरोन्नति गरी कालोपत्रे बनाइनुपर्छ । कालोपत्रे सडकको घनत्व हाल ०.५ कि.मि. रहेकोमा दिगो विकास लक्ष्य अनुरूप ५ कि.मी. पु¥याइनुपर्छ । कालोपत्रे सडकसँगै रूट इजाजतलाई व्यवस्थित बनाइनुपर्छ । यातायात व्यवसायीसँगको सहकार्यमा नै सिण्डिकेट प्रथालाई अन्त्य गर्नुपर्छ । तब मात्र यात्रुलाई यातायातको साधन पर्याप्त भई सहज यात्राको छनोट प्राप्त हुन्छ । अन्यथा, सडक राम्रो भए पनि यात्रुको अत्यधिक भारले यात्रालाई जोखिमयुक्त बनाउँछ । दुर्घटनापश्चात् तत्काल उद्धार गरी घाइतेलाई उपचार गर्न राजमार्गको सीमित दुरीमा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताल स्थापना गर्नु आवश्यक छ ।

सार्वजनिक सवारी सुरक्षित र भरपर्दो बनाउन समय–समयमा कानून तर्जुमा गरिए पनि सो अनुरूप कार्यान्वयन हुनसकेको छैन । बीस वर्षभन्दा पुराना गाडीलाई दुई वर्षभित्र विस्थापनको नीति लिनु आवश्यक छ । लामो दूरीको यात्रामा राखिएको दुई चालकको व्यवस्थालाई कडाइका साथ परिपालना गरिनुपर्छ । साथै रिफ्रेस सेन्टर जहाँ आराम गर्न र खाजाघरको व्यवस्था पनि हामीले सार्वजनिक यातायात संस्कृतिको रूपमा अभ्यास गर्न सकिएको छैन । जसका कारण अत्यधिक कामको तनावका कारणले हुने दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ ।

सार्वजनिक यातायात व्यवस्थापन प्रत्यक्ष मानिससँग जोडिएको विषय हो । सार्वजनिक यातायात जति सुरक्षित हुन्छ, नागरिकलाई विकासको लाभ प्राप्तिको त्यति नै अनुभूति हुन्छ । नत्र विकास होइन विनाशको पर्यायवाचीको रूपमा पूर्वाधार विकासलाई लिइनेछ । यसर्थ सार्वजनिक यातायात दुर्घटनाबाट शिक्षा लिई नेपालको सडक र यातायातलाई न्यून जोखिमयुक्त बनाउन सबैको योगदानको आवश्यकता छ ।

यो सामग्री राम्रो लागेमा वा यस्तै थप  Post हरू चाहनुहुन्छ भने  comment गर्न नभुल्नुहोला ।अरू साथीहरूलाई पनि भन्नुहोला ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login