६२. प्रेम र संस्कृतिको प्रतीक तिहार

६२. प्रेम र संस्कृतिको प्रतीक तिहार

हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।


पाँच दिनसम्म मनाइने चाडको पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार पर्छ । तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौं दिनलाई भाइ तिहार भनिन्छ । पाँच दिनसम्मको यो अवधिलाई यमपञ्चक भनिन्छ । यी पाँच दिनमा घर–घरमा दीपावली गरिए पनि विशेषगरी औंसीको साँझ गाई तिहारको साँझ लक्ष्मीपूजा गरी दीपावली (बत्ती) गरिने भएकाले गाई तिहारलाई दीपावली साँझ भन्ने चलन छ । गाई तिहारका दिन गरिने लक्ष्मीपूजा र भाइ तिहारमा लगाइने टीकाले यो पर्वको महत्व अझ बढेको छ  । भातृत्वको पर्व तिहारमा विभिन्न सामग्रीको आवश्यकता पर्छ । 

 

प्रत्येक पर्व अस्तित्वगत, प्रकृतिगत एवं मानव जीवनमा व्यवहारिक रूपमा वैज्ञानिकता बोकेर आउँछन् किनभने जीवन अस्तित्वको सृष्टि हो र सृष्टिको स्रोत प्रेम हो । संसारको आपाधापीमा हामी यी महत्वपूर्ण कुराहरूलाई बिर्सिरहेका हुन्छौं । त्यसैले हरेक पर्वले हामीलाई स्व–स्मरणमा पुर्‍याउँछन् । यो संसारमा हुनु र जिउनुको पछाडि धन, सम्पत्ति र सम्पन्नताले मात्र भूमिका खेल्दैन त्यसको मूल स्रोत के हो त्यसलाई हामीले बिर्सनु हुँदैन । पारिवारिक प्रेम, श्रद्धा र सुमधुर सम्बन्ध नै सबै सृष्टिको स्रोत एवं आधार हो । तिहार त्यस्तै प्रेम, सम्बन्ध, संस्कार र आस्था प्रकट गर्ने एउटा प्रतीक हो । जसले हामीलाई द्वन्द्व र भ्रमबाट आनन्द एवं खुसीतर्फको यात्रा गराउँछ । 

दीपावली र बत्तीको झिलिमिली केवल कपासको बत्ती र तेलको मिश्रणबाट आउने उज्यालो मात्र होइन हामी भित्रको अन्धकाररूपी रिपुहरूलाई जलाएर ध्यान, प्रेम, शान्ति एवं आनन्दको प्रकाश छरौं भन्ने सन्देश पनि हो । बाहिरको झिलिमिलीले मात्र आन्तरिक प्रकाश जागृत हुँदैन । क्रोध, हिंसा, घृणा, लोभ, मोह, इष्र्या, द्वेष, कामना जस्ता अन्धकाररूपी रिपुहरुले जीवनलाई अधोगतितिर लगिरहेका हुन्छन् । भित्रको प्रकाशरूपी उज्यालो अर्थात् प्रेमरूपी, आनन्दरूपी, खुसीरूपी प्रकाश फैलिन भित्रकै अन्धकार तिरोहित गर्न सक्नुपर्छ ।  



तिहार स्वच्छ र सफा मौसम, फूलैफूलको मौसम, खुसी र रमाइलो वातावरण तथा सद्भाव र मित्रताका कारण अरू समयमा पनि यी गुणहरू कायम रहुन् भन्ने पुनस्मरणको अवसर हो । पाखाभरी गाइतिहारे फुल्ने, खेतका डिलभरी सयपत्री फक्रिने र गह्राका कुनाभरि मखमली फुल्ने मौसम तिहारमा सबैको मनमा हर्षोल्लास छाएको हुन्छ । देउसीभैलोको माध्यमबाट साथीभाइको रमाइलो र लोक संगीत अनि, घर छेउको चौरमा हालिएको रोटे पिंग र लिंगे पिंग, औंसीको रातमा पनि बत्तीको झिलिमिलीले प्रदान गर्ने प्रकाशमय वातावरण सबै जीवलाई सकारात्मक र हर्सोल्लासकासाथ बाँच्न प्रेरित गर्ने माध्यम हुन् । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login