- Home
- Show Content
७०. सहिद
७०. सहिद
व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको बलिदान दिने व्यक्तिलाई सहिद मानिन्छ । धेरै जसो देशमा राष्ट्रिय स्वतन्त्रताको आन्दोलनमा मृत्युवरण गनेहरुलाई सहिद भनिएको पाइन्छ । नेपाललगायत कतिपय देशमा लोकतन्त्रका लागि मानिसहरु सहिद भएका छन् । जे जस्तो परिवेश रहे पनि सहिद भनेका समाजका ती सपुत हुन जसले आफ्नो व्यक्तिगत स्वार्थ त्यागे र समग्र हितका निम्ति जीवनलाई वलीदान दिने मानिसलाई सहित भन्ने गरिएको छ ।
खटिखाने जनतालाई थाङ्नामा सुताइराख्ने अनि चुसिखानेहरुका लागि चाहिँ लुट र वैभगको साम्राज्य खडा गरिदिने जनविरोधी व्यवस्थाहरुलाई धूलोपीठो पारिदिन छेडिएका संघर्ष, आन्दोलन वा लडाइँको अग्रपंक्तिमा रहेर जीवनको बलिदानी दिने महान् कर्मवीरहरुको नाम हो सहिद ।व्यक्तिगत जीवनको नाफाघाटा नहेरेर, बृहत्तर समाजको हितको लागि आफ्ना जिन्दगी ती सहिदहरुले अर्पण नगरेको भए आज राणा शासन र पञ्चायत लगायत विभिन्न निरंकुशतन्त्रहरुको जन्जिर भन्दा बाहिर कहाँ आउन सक्थ्यौँ हामी ?
राणा शासनको पतनदेखि राजतन्त्रको अन्त्यसम्मका लागि भएका विभिन्न आन्दोलनहरुमा धेरै सपुतहरुले शहादत प्राप्त गरे । ती मध्ये धेरै ज्ञात भएपनि कति अज्ञात छन् । लखन थापालाई नेपालको पहिलो सहिद भन्ने गरिए पनि वि.सं. १९९७ सालमा राणाशासकहरुद्वारा मृत्युदण्ड दिइएका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको नाम सहिदको अग्रपंक्तिमा आउने गर्दछ ।
शब्दकोषमा ‘आफ्नो ज्यानको कुनै पर्वाह नगरी राष्ट्र र जनताको मुक्तिका लागि आफ्नो बलिदानी दिने वीर सपुतहरूलाई सहिद भनिन्छ’ भनी उल्लेख भएतापनि पछिल्लो समय सहिद शब्दकै दुरूपयोग हुने गरी सहिद घोषणा हुन थालेको छ । देशभित्र हुने हिंसात्मक खालका विभिन्न आन्दोलन, राजनीतिक कार्यक्रमका क्रममा मारिएकाहरूलाई समेत सरकारले सहिद घोषणा गर्ने गलत परम्पराका कारण नेपालमा दिनानुदिन सहिदहरू थपिने क्रम जारी छ । पछिल्ला केहीवर्षदेखि दुर्घटनामा ज्यान गुमाउने, चोरीडकैती गर्दा ज्यान गुमाएकालाई पनि सहिद घोषणा गरिएको छ । कतिपय अवस्थामा दलहरुले आफ्नो कार्यकर्तालाई भागबण्डा लगाएर दलीय हिसाबले सहिद घोषणा गरिरहेका छन् ।
सच्चा सहिद सत्ता परिवर्तनको भन्दा बढी व्यवस्था र युग परिवर्तनको वाहक हुन् । कुनै विश्वास वा सिद्धान्तका लागि जानीजानी जीवन सुम्पने व्यक्ति सहिदको परिभाषामा पर्दछ । अर्थात देश, काल, परिस्थिति र जनताका लागि जीवन आहुती दिने व्यक्ति सहिद हो । तर विगत केही वर्षको अभ्यासमा सहिद लेनदेनको पात्र बनेको छ । वास्तवमा सहिदको सम्मान रुपियाँमा हुँदैन । वास्तविक सहिदले त आफ्नो मृत्युमा सम्मान हासिल गर्दछ, समस्त मुलुकको लागि उसले प्राण उत्सर्ग गरेको मानिन्छ । परिवार या आफन्तलाई केहीलाख रुपैयाँ दिलाउनुमा सम्मान हुने होइन । तर नेपालमा आन्दोलनमा मारिने हरेक कार्यकर्तालाई सम्बन्धित दलले सहिद घोषणा गरेर, गराएर सहिद शब्द र मान्यताको अवमूल्यन गरेका छन् ।
एकातिर अन्धधुन्ध सहिद घोषणा गरेर वास्तविक सहिदको अपमान गरिएको छ भने अर्कोतर्फ सहिदहरुको सपना पूरा गर्ने कुरामा पनि खासै उपलब्धि हुन सकेका छैनन् । नेपाली जनताका चाहना र सहिदको सपना साकार पार्ने गरी शासन पद्घतिमा प्रजातान्त्रिक संस्कार र भ्रष्ट्राचाररहित सुशासन स्थापित हुन सकिरहेको छैन ।
सहिद पार्टी, वर्ग, समूह, क्षेत्रको हुँदैन, मुलुकको मात्र हुन्छ र त्यो साझा हुन्छ । सबैको साझा भए मात्र त्यो सहिद हुन लायक हुन्छ भन्ने कुरा घोषणा गर्नेहरुले बुझ्नु जरुरी छ । त्यसैले अन्धधुन्ध सहिद घोषणा गरेर सहिदको नै अपमान नगरौँ । सहिदको गरिमा र मर्यादा कायम राखौँ । सहिदप्रति नतमस्कतक हुने वातावरण सिर्जना गरौँ । सच्चा सहिदहरूको बलिदानीकै कारण आम नेपाली नागरिकहरू सार्वभौम हुन पाएको कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review